धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै जारी घोपा बचाउ आन्दोलन १३८ औं दिनमा समापन भएको छ । 

शनिबार साँझ संघीय सरकारका स्वास्थ्यमन्त्री भवानी खापुङ धरान आएर मागबारे आन्दोलनलाई सम्बोधन गरेपछि १३८ औं दिनमा समापन भएको घोषणा गरिएको हो । मन्त्री खापुङले वीपी प्रतिष्ठान बचाउन, स्वास्थ्य उपचार सेवा गुणस्तरीय बनाउन, आवश्यक पर्ने महत्वपुर्ण मेशिन तथा उपकरण खरीद गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले प्रतिष्ठान सुधार गर्न सरकारको ध्यानाकर्षण गराउने गरि आन्दोलन गरेको भन्दै धरानबासीहरुलाई धन्यवाद पनि दिएका थिए । 

मन्त्री खापुङले रिक्त पदाधिकारीको पदपूर्ति भइसकेको र आफुले प्रतिष्ठानलाई सुधार गर्न निर्देशन दिइसकेको पनि बताए । उनले आफ्नो मृत्यु भइसके पछि अंगदान पनि गर्ने घोषणा गर्दै आफु विरामी हुँदा उपचार गर्न विदेश नजाने पनि घोषणा गरे । साथै उनले आइतबार बिहान प्रतिष्ठानको अनुगमन गर्ने र पदाधिकारीहरुसँग छलफल पनि गर्ने बताए । 

save-ghopa1

प्रतिष्ठानको स्वास्थ्य सेवा खस्कदै गएको, सर्वसाधारण विरामीहरुले सास्ती भोग्नुपरेको, अनियमितता बढेको भन्दै विगत १३८ औं दिनदेखि धरानबासीहरु आन्दोलनमा थिए । शुरुवातमा हामी नेपालको अगुवाईमा भएको आन्दोलन पछि उक्त संस्थाले धराने युवाहरुलाई सुम्पिएको थियो । आन्दोलनको क्रममा हरेक दिन दिउँसो ४ बजेदेखि ६ बजेसम्म प्रतिष्ठानको डेन्टल गेट अघि धर्ना बस्ने गरिएको थियो ।

आन्दोलन चर्कदै गएपछि समस्या पहिचान गर्न र सुझाव दिन कार्यदल गठन भएको थियो । उक्त कार्यदलले तत्काल सुधार गर्नुपर्ने र दीर्घकालिनरुपमा सुधार गर्नुपर्ने सुझावसहित प्रतिवेदन दिएको थियो । तत्काल १५ दिनभित्र सुधार गर्न सकिने कामहरु कार्यान्वयनमा नभएसम्म धर्ना जारी राख्ने अडान राखेको सेभ घोपा अभियानले साउन २९ गतेदेखि काठमाण्डौंमा आमरण अनसनमा बस्ने घोषणासमेत गरेको थियो । तर, प्रतिष्ठानले १५ दिनभित्र सुधार गर्न सकिने कामहरु कार्यान्वयन गरेको साथै दीर्घकालिनरुपमा सुधार हुने कामहरुको पनि प्रक्रिया शुरुवात भइसकेको प्रमाणसहित आन्दोलनरत पक्षलाई पत्राचार गरेपछि आमरण अनसन स्थगित गरिएको घोपा बचाउ अभियानका संयोजकसमेत रहेका हामी नेपालका अध्यक्ष सुधन गुरुङले बताए ।

save-ghopa 1

स्वास्थ्य मन्त्रालयले समेत आन्दोलनरत पक्षलाई बोलाएर मागहरु पुरा गर्न तथा प्रतिवेदन कार्यान्वयनमा गम्भीर रहेको भन्दै आमरण अनसन नबस्न आग्रह गरेको उनले बताए । सेभ घोपा अभियानले पछिल्लो समय कार्यदलको प्रतिवेदन अनुसार केन्द्र सरकारको क्षेत्राधिकार भित्र पर्ने मागहरु सम्बोधन गर्न, विरामीको चापलाई ध्यानमा राखेर थप डिजिटल एक्स रे मेशिनको जडान तथा सञ्चालन गर्न, एमआरआई मेशिन खरीद र सञ्चालनको लागि अपुग बजेट व्यवस्था गर्न र यथासिघ्र टेण्डर गर्न, सेवाग्राहीहरुको चापलाई ध्यानमा राखेर चिकित्सकहरुको दरबन्दी र चुस्त व्यवस्थापन गर्न, स्थापनाकालदेखि हालसम्मका कर्मचारीहरुको सम्पत्ति छानबिन गर्न, राजनीतिक नियुक्ती बन्द गरी योग्यता र क्षमतासहित कार्ययोजना हेरेर पदाधिकारीहरुको नियुक्ती गर्न माग अघि सारेको थियो । 

अध्यक्ष गुरुङका अनुसार शनिबार आन्दोलनको समापन कार्यक्रमको लागि धरान १० स्थित हाङकुक साराङ कोरियन रेष्टुरेष्टका सञ्चालक विकी श्रेष्ठ र गु्रप अफ मनकामनाका अध्यक्ष नविन राजभण्डारी र उनका साथीहरुले सहयोग गरेका थिए । समापन कार्यक्रमको लागि स्टेजमा एलइडीको पनि व्यवस्थापनसहित ६० हजार हाराहारी खर्च भएको उनले जानकारी दिए । हाङकुकका सञ्चालक श्रेष्ठले आन्दोलनको शुरुवातदेखि नै सहयोग दिइरहेको पनि गुरुङले बताए । 

भिडियो: