धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य सेवा सुधारको लागि निरन्तर भइरहेको आन्दोलन सेभ घोपा अभियान शनिबार समापन गरिने भएको छ । 

विगत ४ महिनादेखि जारी यो आन्दोलनमा शनिबार बेलुकी ५ बजे स्वास्थ्य मन्त्री एवं प्रतिष्ठानका सहकुलपति भवानी खापुङ पनि उपस्थित भएर मागहरुबारे सम्बोधन गर्ने सेभ घोपा अभियान तथा हामी नेपालले जानकारी दिएको छ । अध्यक्ष सुधन गुरुङका अनुसार प्रतिष्ठानको स्वास्थ्य सेवा सुधारको लागि अघि सारिएको ३२ वटा मागहरु मध्ये अधिकांश पुरा भइसकेको छ भने दीर्घकालिनरुपमा गर्नुपर्ने सुधारको कामहरुको प्रक्रिया अघि बढेको छ । 

उनका अनुसार कार्यदलले दिएको प्रतिवेदन अनुसार १५ दिनभित्र पुरा हुनुपर्ने मागहरु पुरा भइसकेको छ । अब एमआरआई मेशिन खरीद, एमसिएच भवन, ट्रमा सेन्टरको भवनलगायत मागहरुको बिषयमा पनि प्रतिष्ठानले सम्बन्धित निकायमा पत्राचार गरिसकेको र प्रक्रिया अघि बढेको प्रतिष्ठानबाट औपचारिकरुपमा नै जानकारी आन्दोलनरत पक्षलाई आएको छ । सोही कारणले अब सडक आन्दोलनलाई रोकेर अन्य किसिमले माग पुरा गर्न दबाब दिइने पनि गुरुङले बताए । 

कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयनमा ढिलासुस्ती भएको भन्दै सेभ घोपा अभियानले साउन २९ गतेदेखि राजधानीमा आमरण अनसन बस्ने घोषणासमेत गरेको थियो । तर, सरकारकोतर्फबाट अनसन नबस्न आग्रह गर्दै मागहरुबारे गम्भीरतापुर्वक लिएको जानकारी गरेपछि स्थगित गरिएको थियो । सोही समझदारी अनुसार स्वास्थ्य मन्त्री खापुङ शनिबार धरान आएर आन्दोलनलाई सम्बोधन गर्ने जानकारी सेभ घोपा अभियानले दिएको छ । 

save-ghopa