धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्ट्रारलाई भदौ १८ गतेभित्र आवास (क्वार्टर) उपलब्ध गराउने उपुलपति डा.ज्ञानेन्द्र गिरीले प्रतिवद्धता जनाएका छन् ।

उपकुलपति डा.गिरीले आइतबार रजिष्ट्रार डा.सुर्यप्रसाद संग्रौलालाई पत्राचार गर्दै यस्तो प्रतिवद्धता जनाएका हुन् । उपकुलपतिले कानुनी प्रक्रिया पनि अघि बढीसकेकोले धैर्य गर्न आग्रह गरेपछि आफु अस्थायी टेण्ट टाँगेर बस्ने कार्यक्रम पनि तत्काललाई स्थगित गरेको रजिष्ट्रार डा.संग्रौलाले जानकारी दिए । उनले भने,‘भिसि सरले १८ गतेभित्र आवास उपलब्ध गराउछुँ भन्नु भएको छ । कानुनी प्रक्रिया पनि अघि बढाइसकेको छुँ, धैर्य गर्नुस् भन्नुभएकोले त्यतिबेलासम्म म पर्खन्छुँ ।’

रजिष्ट्रार डा.संग्रौलाले आवास नपाएपछि आइतबार बेलुकी ५ बजेपछि प्रतिष्ठान हाताभित्र रहेको वीपी कोइरालाको सालिक भएको क्षेत्रमा अस्थायी टेण्ट टाँगेर आवासकोरुपमा बस्ने तयारी गरेका थिए । प्रहरी प्रशासन, प्रतिष्ठानको आन्तरिक प्रशासनलाई पनि सुरक्षा र टेण्टको प्रबन्ध गर्न पत्राचार पनि भइसकेको थियो । तर, उपकुलपति डा.गिरीले मिति तोकेर नै आवास उपलब्ध गराउने भनेपछि आफु तत्काललाई रोकिएको संग्रौलाले बताए । उनले त्यसबेलासम्म विराटनगरस्थित घरबाट नै कार्यालय धाउने पनि बताए । 

गत बर्ष भदौमा पदबाट राजिनामा दिएका पुर्वरजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले रजिष्ट्रार बस्ने आवास छोडेका छैनन् । जसले गर्दा नवनियुक्त रजिष्ट्रार डा.संगौला लामो समय गेष्ट हाउसमा बसेका थिए । केही दिनदेखि भने उनी विराटनगरस्थित घरबाट नै धाइरहेका छन् ।