धरान: पार्टी निर्णय विपरीत मंसिर ४ गतेको निर्वाचनमा सुनसरी १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेद्वारी मनोनयन दर्ता गराएका मनोजकुमार मन्योङ्बोले मनोनयन फिर्ता गरेनन् ।

एमालेका नेताहरुले मनोनयन फिर्ता गराउन अनेक प्रयास गरेपनि उनले उम्मेद्वारी फिर्ता गरेनन् । पार्टीका नेताहरुले उनको उम्मेद्वारी मनोनयन फिर्ता गराउन प्रयास असफल भएको थियो । तर, आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन फिर्ता गराउने समय तोकिएको थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उक्त समयभित्र मात्र प्रदेशसभा (१) र प्रदेशसभा (२) का एक एक जना स्वतन्त्र उम्मेद्वारले मात्र मनोनयन फिर्ता लिएका छन् ।

एमाले र जसपाबीच चुनावी तालमेल हुँदा सुनसरी १ जसपाको भागमा परेको छ । यहाँबाट एमालेले जयकुमार राईलाई एकल उम्मेद्वार सिफारिश गरेको थियो । तर, चुनावी तालमेल हुँदा यहाँ एमाले जसपाबाट संयुक्त उम्मेद्वार अशोक राई भएका छन् । पार्टीको यो निर्णयमा चित्त नबुझाएका एमाले नेता, कार्यकर्ताहरुको साथ लिएर धरानका पुर्वमेयर तथा प्रदेश १ कमिटी सचिवालय सदस्य मन्योङ्बोले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । उम्मेद्वारी दर्ता लगत्तै उनले आफु पार्टीको कुनै कमिटी र साधारण सदस्य पनि नरहेको घोषणा गरिसकेका छन् ।

मन्योङ्बोले उम्मेद्वारी फिर्ता नलिएपछि एमाले जसपाका संयुक्त उम्मेद्वार अशोक राईलाई प्रत्यक्ष असर पर्नेछ । मन्योङ्बोको समर्थनमा एमालेकै प्रदेश, जिल्ला, नगर र वडा कमिटीका नेता, कार्यकर्ताहरु खुलेका छन् भने कतिपयले भित्रभित्रै सघाइरहेका छन् । यसले जसपा नेता अशोक राईको प्रतिनिधिसभाको यात्रा सहज भने छैन । सत्ता गठबन्धनमा पनि प्रतिनिधिसभाको टिकट माओवादी केन्द्रको भागमा परेपछि कांग्रेसजनमा असन्तुष्टी छ । कांग्रेसको यो असन्तुष्टीको फाइदा मन्योङ्बोलाई जाने चर्चा छ । 

मन्योङ्बोका निर्वाचन परिचालन मुल कमिटी संयोजक तथा एमाले प्रदेश कमिटी सदस्य किशोरकुमार कार्कीले भने,‘उपमेयर र मेयर भएर काम गर्दा क्लिन भएर निस्किएको मान्छे, उहाँबारे जनतालाई धेरै थाह छ । विकास निर्माणको भिजन र डिजाइन भएको मान्छे हो । हरेक राजनीतिक आन्दोलनबाट खारिएको मान्छे हो । सबैतिरबाट सहयोग छ । अन्य राजनीतिक दलको पनि सहयोगको सम्भावना छ । उहाँलाई चिन्ने र पार्टीभित्र निरंकुशता हुनुहुदैन भन्ने मत अवश्यक आउछ ।’

नेपाली कांग्रेसका कार्यकर्तासमेत रहेका समाजसेवी प्रेमप्रसाद पराजुलीका अनुसार यसपाली ठुलो पार्टी भनिएको एमाले, कांग्रेसको उम्मेद्वार नै नभएकोले निर्वाचन परिणाम गठबन्धनलाई भन्दा फरक आउने अनुमान गर्छन् । ‘गठबन्धन देशको नीति निर्माण, ठुला योजनाहरु निर्माणमा हुनुपथ्र्याे, तर चुनाव जित्नको लागि मात्र भयो । यसले कार्यकर्ता र जनतामा नरुचाइएका व्यक्ति उम्मेद्वार हुने भए,’उनले भने,‘यसले कार्यकर्ता र जनतामा निराशा छाएको छ । यसो महोल बुझ्दा यसपाली कांग्रेस, एमालेका कार्यकर्ताहरुले स्वतन्त्र उम्मेद्वार मनोज मेन्याङ्बोलाई भोट दिने वातावरण बन्दै गरेको देख्छुँ ।’