धरान: मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ मा बागी उम्मेद्वारी दिएका एमाले नेता मनोजकुमार मेन्याङ्बोलाई पार्टीले निष्काशन गरेको छ ।

एमाले प्रदेश नं १ कमिटीले मेन्याङ्बोलाई पार्टी विधान विपरीत स्वतन्त्र उम्मेद्वारी दिएकोले पार्टी सदस्यताबाट निष्काशन गरेको जनाएको छ । एमाले प्रदेश अध्यक्ष तुलसी न्यौपानेले पार्टी निर्णयविपरीत चुनावमा उठेको र उम्मेद्वारी मनोनयन फिर्ता गर्न आग्रह गर्दा पनि नमानेकोले कारबाही गरिएको बताए । 

एमाले जिल्ला सचिवालय सदस्य तथा धरान नगर इञ्चार्ज नारायण सुवेदीले पनि पार्टी निर्णयविरुद्ध गएपछि कारबाही हुनु स्वभाविक प्रक्रिया भएको टिप्पणी गरे । साथै उनले पार्टीमा अनुशासन कायम राख्ने प्रमुख बिषय भएकोले सोही अनुसार बागीलाई कारबाही भएको पनि बताए । 

सुनसरी १ मा एमाले र जसपाबीच चुनावी तालमेल छ । अन्तिम समयमा भएको तालमेलको कारण एमालेबाट सर्वसम्मत सिफारिश भएका जयकुमार राई उम्मेद्वार हुनबाट बञ्चित भएपछि असन्तुष्ट पक्षले मेन्याङ्बोलाई उम्मेद्वार बनाएको हो । एमाले जसपा तालमेलबाट सुनसरी १ मा जसपा नेता अशोककुमार राई उम्मेद्वार छन् । मेन्याङ्बो एमाले प्रदेश कमिटी सचिवालय सदस्य थिए । उनको चुनाव चिह्न खरायो रहको छ । 

केही फरक पदैन: मेन्याङ्बो

बागी उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले भने आफुले पार्टीमा नरहने घोषणा गरेरै उम्मेद्वारी मनोनयन गरेको कारण केही फरक नपर्ने प्रतिक्रिया दिए । उनले भने,‘पार्टीबाट साधारण सदस्य पनि नरहने गरि घोषणा गरेर मनोनयन गरेको थिए । पार्टी नै परित्याग गरिसकेकोले अहिले निष्काशन गरेको भन्दा केही फरक पदैन ।’

UML