धरान: सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार अशोककुमार राईले एमाले जसपा तालमेल स्थायी प्रकृति हुने बताएका छन् ।

प्रेस चौतारी नेपाल धरान उपमहानगर कमिटी र बराहक्षेत्र नगर कमिटीको आयोजनामा सञ्चारकर्मीहरुबाट सुझाव संकलन कार्यक्रममा जसपा नेता एवं उम्मेद्वार राईले यस्तो धारणा राखेका हुन् । उनले नेपालमा २०४६ सालको प्रजातान्त्रिक आन्दोलनदेखि नै गठबन्धन सँस्कृति शुरुवात भएको उल्लेख गर्दै हाल नेपालको संविधानले नै २ वा २ भन्दा बढी दलहरु मिलेर जानुपर्छ भन्ने कुरालाई निर्दिष्ट गरेको पनि बताए । 

‘हामीले संविधानमा नै मिश्रित निर्वाचन प्रणाली व्यवस्था गर्यौ, यो भनेको यस्तो सिस्टम हो, जहाँ एउटा पार्टीको बहुमत अपवादमा मात्रै हुनेगर्छ । हाम्रो सिस्टमले नै के भनेको छ भने २ वा २ भन्दा बढी दलहरु मिलेर, सहकार्य गरेर जानुपर्छ,’उनले भने,‘त्यो हिसाबले तालमेल गरेर जानुपर्छ, र समिकरण बनाएर मात्र मुलुकको हाम्रो चालु प्रणालीलाई अगाडि लिएर जान सकिन्छ भन्ने कुरा संविधानले नै निर्दिष्ट गरेको छ ।’

नेता राईले २०७४ को निर्वाचनमा पनि समिकरण बनेको तर ५ बर्षको अभ्यास र अनुभवले उक्त समिकरण प्राकृतिक, स्वभाविक नभएको महशुस भएको पनि बताए । सोही समिक्षा गरेर यसपाली एमाले र जसपाबीच तालमेल गरिएको भन्दै उनले यो अलि स्थायी प्रकृतिको हुने आधारहरु रहेको जिकिर गरे । ‘हामी बहुमतको सरकार जनतालाई दिने अठोटका साथ छौं । मात्र २, ४ वटा सिट थप्ने, बढाउने कुरा होइन,’नेता राईले भने,‘सरकार लिएर नेपाललाई अग्रगामी दिशामा अघि बढाउने, राष्ट्रवादी दिशामा अगाडि बढाउने र अलि दिगो ढंगले समिकरणलाई टिकाएर लैजाने सोचका साथ समिकरण बनाएर आएका छौं ।’

सुविधा सम्पन्न सभाहल, थोक व्यापार पुर्नस्थापित हुने 

jasapa1

उम्मेद्वार राईले उपमहानगरपालिका हुनको लागि आवश्यक आधारभुत तत्व सुविधा सम्पन्न सभाहलसमेत धरानमा नभएको भन्दै उनले एक हजार क्षमताको सभा भवन निर्माण गर्नुपर्ने बताए । यस्तै, स्वास्थ्य सेवा सुविधा अझै राम्रो बनाउनुपर्ने र वीपी प्रतिष्ठानलाई धेरै सेवाहरु दिनसक्ने गरि विस्तार गर्नुपर्ने पनि उनले बताए । क्षेत्र नं १ मा पर्ने रामधुनीका २ वटा वडा र बराहक्षेत्रको ५ वटा वडाहरुलाई धरानसँग सुगमढंगले जोड्ने पक्की सडक बनाउन जरुरी रहेको धारणा राख्दै राईले त्यसो गर्न सकेमा धरानको व्यापार व्यवसाय, आर्थिक कारोबारमा वृद्धि हुने पनि बताए । 

यस्तै, धरानबाट लेउती सुरुङ मार्ग बनाएर तमोर करिडोर जोडिएपछि धरान पुर्ववत अवस्थामा फर्किने पनि राईको भनाई थियो । यसले धरानको मासिएको थोक व्यापार पुर्नस्थापित हुनसक्ने उनले बताए । मदन भण्डारी राजमार्गमा पर्ने बगुवा खोलामा पुल निर्माण गर्नुपर्ने, चतरा–बराहक्षेत्र सडकलाई कालोपत्रे बनाउनुपर्ने, सप्तकोशीको पानी सिँचाईसँगसँगै खानेपानीकोरुपमा प्रयोग गर्नुपर्ने, कोशीमा जलक्रिडा तथा पर्यटकीयस्थल बनाउन निजी क्षेत्रलाई आह्वान गर्नुपर्ने, कोशीटप्पु र सप्तकोशीको पानीलाई जोडेर इकोटुरिज्म विकास गर्नुपर्ने, धार्मिक पर्यटनको सर्किट बनाउनुपर्नेलगायत योजनाहरु उनले अघिसारेका थिए ।

कार्यक्रममा सुनसरी १ (१) का उम्मेदवार रमेशकुमार बस्नेतले पार्टीले सार्वजनिक गरेका प्रतिबद्धताहरु पूरा गर्न प्रतिबद्ध रहने बताए । धरानमा मुख्य समस्याका रुपमा रहेको खानेपानी र अव्यवस्थित बसोबासको समाधान गर्न लागिपर्ने भन्दै उनले धरानलाई पर्यटन, स्वास्थ्य, शिक्षा, आर्थिक समृद्धिका लागि गुल्जार बनाउन आफुले भूमिका निर्वाह गर्ने बबताए ।

सुनसरी १ (२) का उम्मेदवार विजयकुमार राईले पार्टीले समृद्ध नेपाल र सुखी नेपालीको नारा लिएकोले सम्पूर्ण कार्यभार सोही अनुरुप गर्ने बताए । उनले नेकपा एमाले सरकारमा पुगेमा सबैखाले समस्या समाधान गर्न सक्षम रहेको बताए । कार्यक्रममा सञ्चारकर्मीहरुले उम्मेद्वाहरुलाई विभिन्न सुझावहरु दिएका थिए ।

भिडियो: