धरान: एमाले जसपा तालमेलका उम्मेदवारहरुले सुकुम्बासी समस्या समाधान गर्न भूमिहीन, अव्यवस्थित बसोबासीहरुलाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

धरान ११ का बस्तीहरुमा घरदैलोमा पुग्ने क्रममा उनीहरुले सुकुम्बासीलाई विस्थापित नगरी स्थापित गर्ने वचनवद्धता व्यक्त गरेका छन् । वडा नं नम्बर ११ धरानको धेरै सुकुम्बासीहरु बसोबास भएको वडामध्येमा पर्छ । जनताको घरदैलो पुग्दै सुनसरी क्षेत्र नं १ प्रदेश सभा ख का उम्मेदवार विजयकुमार राईले नेकपा एमाले र जसपाको संयुक्त सरकारका बेलामा ऐन बनेको भन्दै राईले सुकुम्बासी समस्याको स्थायी समाधान दिनुपर्छ भनेर आफूहरु लागि परेको बताए । 

सुकुम्बासी समस्या देशै भरी भएको भन्दै उम्मेदवार राईले सुनसरी १ मा झनै विकराल रहेको बताए । बषौंदेखि धनीपूर्जा दिनेदिने भनेर राजनीतीकरण भइरहेको भन्दै उनले भने,  ‘हामी राजनीति गर्न चाहदैनौ, सुकुम्बासी, अव्यवस्थित र भूमिहीनहरुलाई स्थायी प्रकृतिको लालपूर्जा वितरणमा संवेदनशील छौँ ।’

एमाले नेतृत्वको उसरकार हुँदा सुकुम्बासी समस्या र अव्यवस्थित बसोबासलाई हल गर्न ऐन बनाएर आयोगसमेत गठन गरेको भन्दै उनले अब मंसिर ४ पछि एमालेकै सरकार बन्ने र सोही सरकारले समस्या हल गर्ने बताए । ऐन बनिसकेकोले सरकारमा जोसुकै आए पनि कार्यान्वयन गर्न बाध्य हुने उम्मेदवार राईले बताए । मुलुकको ठूलो समस्याको रुपमा सुकुम्बासी समस्यालाई ध्यानमा राखेर राज्यले ऐन बनाएको पनि उनले बताए । उम्मेदवार राईले भने, त्यसैले हामीले जितेर गयौं भने त्यो ऐनलाई कार्यान्वयन गर्न दबाब दिन्छौं, प्रयत्न गछौं ।

सुनसरी क्षेत्र न १ का प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार अशोककुमार राईले सुकुम्बासी समस्यालाई हल गर्न, व्यवस्थित गर्न, खहरे नियन्त्रण गर्न आफूसँग ठोस योजना रहेको बताए । उनले धरान ११ लगायतका सुकुम्बासी बस्ती र खहरे खोला प्रभावित क्षेत्रलाई करिडोर निर्माण गरी सौन्दर्यता प्रदान गर्ने बताए ।