धरान: मंसिर ४ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वारहरुले धरान वडा नं १३ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । 

प्रतिनिधि सभाका साझा उम्मेद्वार माओवादी केन्द्र तर्फबाट मुक्सामहाङ मेन्याङ्बो (मुकेश) र प्रदेश सभा १ (१) का साझा उम्मेद्वार नेपाली कांग्रेसतर्फबाट उमेश थापाले आज शुक्रबार धरान १३ मा घरदैलो गर्दै मतदातासँग साक्षात्कार गरेका हुन् । उम्मेद्वारसहितको घरदैलो अभियान शुक्रबार सकिए पनि वडाको तर्फबाट भने निरन्तर घरदैलो कार्यक्रम जारी रहने निर्वाचन परिचालन समितिका संयोजक डम्बर तामाङले जानकारी दिए । 

घरदैलो अभियानको क्रममा मतदाताहरुले युवा उम्मेद्वार भएकोले मतदान गर्न आतुर रहेको प्रतिक्रिया दिएका थिए । युवाको नेतृत्वले विकास र समृद्धि ल्याउने भन्दै उनीहरुले पार्टी भन्दा माथि उठेर युवाहरुलाई नै अघि बढाउने पनि बताएका छन् । लोकतान्त्रि बाम गठबन्धनबाट प्रतिनिधि सभाको उम्मेद्वार र प्रदेश सभा १ (१) का उम्मेद्वार दुवै जना युवा भएकोले धेरै आशा र अपेक्षा रहेको पनि मतदाताहरुको भनाई थियो । धरान १३ अमर पथ निवासी अवकाशप्राप्त शिक्षिकाले नाम खुलाउन नचाहदै भनिन्, अब राजनीतिमा युवालाई नै अघि बढाउनु पर्छ । यो निर्वाचन पनि विषेश युवालाई नै मतदान गर्ने र गर्न आव्हान गर्नुपर्छ । 

धरान १३ का मतदाताहरुले अव्यवस्थित बसोबास तथा सुकुम्बासीहरुलाई व्यवस्थापन गर्ने पार्टी र व्यक्तिलाई नै मतदान गर्ने बताए । अहिलेको गठबन्धन सरकारले सरकार गठन भएको महिना दिनमै प्राथामिकतामा राखेर काम अघि बढाएको र जग्गाको निस्सा पनि पाइसकेकोले अब चाँडै धनीपुर्जा पाउँनेमा विश्वस्त रहेको पनि प्रतिक्रिया दिएका थिए । 

धरान १३ स्थित जिरोप्वाइण्टबाट सुरु भएको घरदैलो कार्यक्रम जानकी चौक, देवी मार्ग, सुम्निमा चौक, फुश्रे, सुर्य मार्ग, शिवधारा, अमरहाट हुँदै घरदैलो समापन गरिएको थियो । उम्मेद्वारहरुले आफुहरु प्रत्येक घरमा पुग्न नसकेकोमा दुःख व्यक्त गर्दै जिताएर पठाएमा मतदाताहरुको समस्याको समाधान लिएर घरघरमा आउने प्रतिवद्धता पनि जनाएका छन् ।