धरान: अगामी मंसिर ४ मा हुने निर्वाचनमा सरकार गठन गर्ने दलका उम्मेद्वारलाई मतदान गर्न आवश्यक रहेको नेकपा (माओवादी केन्द्र) धरान उपमहानगर ईन्चार्ज फोक्वाहाङ सुब्बा चोत्लुङले बताएका छन् ।

धरानको छाताचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले यसपटक गठबन्धनले युवा उम्मेद्वारलाई अगाडि बढाएको पनि बताए । उनले प्रतिनिधिसभामा ४० वर्ष नकाटेका युवालाई उम्मेद्वार बनाएको भन्दै सुनसरी क्षेत्र नं. १ ले संघीय सरकार बनाउने दल र प्रदेश सरकार बनाउने दललाई जिताएर पठाउनुपर्नेमा जोडदिए । यो क्षेत्रको विकासको लागी प्रधानमन्त्री र मुख्यमन्त्रीलाई कन्भिन्स गर्ने उम्मेद्वारलाई जिताउनु पर्ने र ती उम्मेद्वार लोकतान्त्रिक वाम गठबन्धनमा भएको पनि उनले बताए । 'हाम्रा उम्मेद्वारहरु अझै ३० वर्ष राजनीति गर्दै यस क्षेत्रको विकास गर्न हरबखत लडिरहने युवा उम्मेद्वार छन्, त्यसैले यसपटक यो क्षेत्रको विकासको लागि गठबन्धनलाई जिताएर पठाउनुपर्छ,'उनले भने । 

गठबन्धनका युवा उम्मेद्वारहरुले यो क्षेत्रको भविष्य उज्वल बनाउने कुरामा कुनै शंका नभएको पनि उनले बताए । एमाले–जसपाको उम्मेद्वारलाई इंगित गर्दै अब ५ वर्ष पछि यो क्षेत्र नफर्कने र राजनीति नगर्ने नेता भएको उल्लेख गर्दै यस क्षेत्रको विकासको लागी युवा उम्मेद्वार छान्नुको विकल्प नरहेको पनि बताए । यो निर्वाचन क्षेत्रको खेलकुद, पर्यटन र विविध समस्या समाधान गर्न साथै विकासको लागी लोकतान्त्रिक बाम गठबन्धनको उम्मेद्वार नै उपयुक्त हुने पनि नेता चोत्लुङले बताए ।

संघ र प्रदेशको सांसद नीति र नियम बनाउन जाने बताउँदै यस क्षेत्रको विकासकाले लागी नीति निर्माण गर्न सक्ने र सरकार बनाउने दलका उम्मेद्वारलाई नै मतदान गर्न पनि उनले आह्वान गरे । अबको निर्वाचन पछि संघीय सरकार र प्रदेश सरकार लोकतान्त्रिक बाम गठबन्धनको हुने बताउँदै यस क्षेत्रमा गठबन्धनका उम्मेद्वारलाई अगाडी बढाउँदा यो क्षेत्रको विकासले फड्को मार्ने उनले बताए ।