धरान: सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निवार्चित भएका जनता समाजवादी पार्टीका नेता अशोक राई आफु काठमाण्डौंमा मात्र नबस्ने बताएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयबाट निवार्चित भएको प्रमाणपत्र ग्रहण गरेपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिदै राईले आफु महिनामा कम्तीमा १ दिन बस्ने गरि भएपनि निर्वाचन क्षेत्रमा आउने बताए । प्रदेशसभा सदस्यहरु सधै निर्वाचन क्षेत्रमा नै रहने र जनतासँग निरन्तर सम्पर्कमा हुने तर आफ्नो जिम्मेवारी नै संघीय सांसदको भएको कारण काठमाण्डौंमा बस्नुपर्ने बाध्यता पनि रहेको उनले बताए । 

चुनावी घरदैलो अभियानको क्रममा मतदाताहरुले निर्वाचन पछि नेताहरु हराउने गरेको गुनासो गम्भीररुपमा उठाएको पनि उनले बताए । ‘मतदाताहरुले निवार्चित भएपछि हराउने गरेको गुनासो निक्कै गम्भीरढंगले उठाउनु भएको छ,’उनले भने,‘म संघीय संसदको जिम्मेवारी निर्वाह गर्नुपर्ने भएकोले काठमाण्डौं बस्नुपर्ने हुन्छ, तर जनतालाई आश्वास्त बनाएको छुँ कि प्रत्येक महिना कम्तीमा १२ दिन बस्ने गरि भएपनि निर्वाचन क्षेत्रमा आउछुँ । यो वचनमा म प्रतिवद्ध छुँ ।’

जितसँगै काँधमा गम्भीर जिम्मेवारी थपिएको सांसद राईको भनाई थियो । सांसदहरुको मुख्य भुमिका ऐन, कानुन बनाउने र सरकारलाई मार्गर्दशन, नियन्त्रण र सन्तुलन गर्ने जिम्मेवारी भएपनि आफ्नो निर्वाचन क्षेत्रको विकास, पुर्वाधार निर्माणको अपेक्षालाई परिपूर्ति गर्न अधिकतम प्रयत्न गर्ने उनले बताए । ‘यहाँको मुल मुद्दा खानेपानीको स्थायी आपूर्ति छ । त्यसमा हामी गम्भीर छौ, गम्भीरतापुर्वक लाग्छौं,’राईले भने,‘त्यसपछि सडक संरचनाहरु स्तरोन्नती गर्ने र केही पुलहरु निर्माण गर्ने काम पनि यहाँको आधारभूति आवश्यकतामध्ये एक हो ।’

उनले कोशी राजमार्गलाई सुरुङ बनाएर लेउती झार्ने र तमोर करिडोर सडकसँग जोड्न आफुहरुको पहल हुने पनि बताए । धरानलाई रामधुनी र बराहक्षेत्रसँग जोड्न अलवेदर कनेक्टिभिटी सडक, पहाडी क्षेत्र विष्णुपादुका भएर चाँदीबजार हुदै आहाले जाने कच्ची सडक, सुर्यकुण्ड भएर चतरा झर्ने कच्ची सडकलाई स्तरोन्नती गर्ने र आवश्यक पुलहरु बनाउने कामलाई प्राथमिकता दिने पनि उनले बताए । 

यसपालीको निर्वाचनमा भर्खर बनेको राष्ट्रय स्वतन्त्र पार्टीको उदयबारे टिप्पणी गर्दै उनले लोकतन्त्रमा नयाँ व्यक्ति, नयाँ शक्ति र नयाँ पार्टीको जन्म हुनु स्वभाविक भएको बताए । तर, त्यसको अर्थ पुरानो पार्टी सन्दर्भविहिन र आवश्यकता नभएको अर्थमा लिन नहुने पनि उनले बताए । ‘त्यसलाई जनताले नयाँपन चाहेको रहेछ भनेर ठुला र पुराना पार्टीहरुले शिक्षा लिने कुरा हो । नयाँ आएका पार्टीहरुले राम्रो काम गर्नुभयो भने जनताको मन जित्नुभयो भने भोली अझै प्रभावकारी भएर जानसक्नुहुनेछ,’राईले भने,‘तर नारा दिनु र व्यवहारिक राजनीतिमा साकार बनाउनु दुई भिन्न चिज हो । दुवैको बीचमा ठुलो दुरी हुन्छ । त्यसलाई कसरी पार गर्नुहुन्छ, समयले परख्ने कुरा हो ।’

भिडियो: