धरान: तीन दिने धरान उत्सव मनाउने तयारी स्वरुप मंगलबार आयोजित बैठकमा २ जना वडाअध्यक्षहरु मात्र सहभागी भएका छन् ।

सुनसरी उद्योग वाणिज्य संघको हलमा आयोजित बैठकमा वडा नं १४ र वडा नं ६ का वडाअध्यक्षहरु मात्र सहभागी भएका थिए । उपमहानगरपालिकाले पत्र काटेर नै वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुलाई बोलाए पनि सहभागी नभएका हुन् । कार्यपालिका बैठकको बिषयमा राजनीतिक दलहरुबाट निर्वाचित वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु र मेयर हर्क साम्पाङबीच द्धन्द चर्किदै गएको छ । वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले निरन्तर ३ पटक कार्यपालिका बैठक बहिष्कार गरेका छन् ।

कार्यपालिका बैठकबारे मेयर साम्पाङसँगको विवाद साम्य नभएपछि राजनीतिक दल र वडाअध्यक्षहरुले धरान उत्सवबारे आयोजित बैठकमा पनि सहभागीता नजनाएको हो । राजनीतिक दलहरुले पनि मेयर साम्पाङलाई सहकार्य र समन्वय गर्न विज्ञप्ती जारी गरेर सुझाव दिएका थिए । मंगलबारको बैठकमा सुरक्षा निकाय, उद्योगी व्यवसायी, महिला सञ्जाल, आदिबासी जनजाति महासंघलगायतको सहभागिता रहेको थियो । राजनीतिक दलबाट संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च मात्र सहभागी भएको थियो ।

daharan

बैठकमा सहभागी वडा १४ का अध्यक्ष राप्रपाबाट निवार्चित हुन् भने वडा ६ का अध्यक्ष स्वतन्त्र उम्मेद्वारी दिएर निवार्चित भएका हुन् । उनीहरुबाहेक अन्य कोही पनि जनप्रतिनिधिहरु बैठकमा सहभागी भएनन् । एमाले धरान नगर अध्यक्ष हर्कजंग एभेङले सामाजिक सञ्जाल फेसबुकमा छलफल र बहस गरेर सकारात्मक बाटोबाट निकास निकाल्न जरुरी रहेको भन्दै एकल निर्णय गरिरहँदा राजनीतिक दलहरु फट्के किनारामा मात्र बसेर गलत गतिविधिको पक्षमा सहमति जनाउन तयार नभएको प्रतिक्रिया दिएका छन् । मेयर साम्पाङले आफुले ससम्मान पत्राचार गरेर बोलाएपनि वडाअध्यक्षहरु सहभागी नभएको बताएका छन् ।

बैठकमा सहभागीहरुले राजनीतिक दलहरु र वडाका जनप्रतिनिधिहरुको उपस्थिति नहुदा उत्सव आयोजनाप्रति शंका व्यक्त गरेका थिए । उनीहरुले पनि नेतृत्वले सबैलाई मिलाएर सहभागिता गराउने वातावरण तयार गर्न मेयर साम्पाङलाई आग्रह गरेका थिए । पुर्वमेयर मनोजकुमार मेन्याङ्बोले पनि बैठकमा राजनीतिक दल र जनप्रतिनिधिहरुको उपस्थिति नहुँदा कार्यक्रम औपचारिकतामा सिमित हुनसक्ने भन्दै सबैलाई मिलाएर अघि बढ्न मेयर साम्पाङलाई सुझाव दिएका थिए ।

मेयर साम्पाङले आफु समन्वय गरेर नै अघि बढ्न चाहेको तर वडाअध्यक्षहरु नै बैठकमा सहभागी नहुने गरेको बताए । उनले विगतको तितामिठा भुलेर अघि बढ्न आग्रह गर्दै माफी माग्ने बिषयमा भने आफु नझुक्ने बताए । 

मुल आयोजक समिति र स्टेयरिङ कमिटी गठन

dharan1

धरान नगरपालिका स्थापना भएको अवसरमा यसपाली पनि यही पुष २० गतेदेखि तीन दिन धरान उत्सव मनाउने तयारी गरिएको छ । मंगलबार सुनसरी उद्योग वाणिज्य संघमा आयोजित बैठकले मेयर हर्क साम्पाङ संयोजक र उपमेयर अइन्द्रबिक्रम बेघा सहसंयोजक रहेको मुल आयोजक समिति गठन गर्ने निर्णय भएको छ । 

यस्तै, मेयर साम्पाङकै संयोजकत्वमा ५ सदस्यीय स्टेयरिङ कमिटी पनि गठन गरिएको छ । उक्त स्टेयरिङ कमिटीको सदस्यमा अइन्द्रबिक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाल, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ र सदस्य सचिवमा आर्थिक महाशाखा प्रमुख भक्तिराज शर्मा रहेने निर्णय गरिएको छ । 

स्टेयरिङ कमिटीले धरान उत्सव मनाउनको लागि आवश्यक क्रियाकलाप छनौट गर्ने, आर्थिक तथा प्राविधिक स्रोत जुटाउने र आवश्यकता अनुसारको बिषयगत समितिहरु गठन गर्ने अधिकार पनि दिइएको छ ।

धरान उत्सवकै अवधिमा इष्ट टुरिज्म मार्ट आयोजना गर्ने पनि प्रस्ताव गर्दै नेपाल पर्यटन बोर्डसँगको सम्झौता अनुसार खर्च गर्ने पनि प्रस्ताव बैठकमा गरिएको थियो । बोर्डका सदस्य कृष्ण साहले धरान उत्सवसँग इष्ट टुरिज्म मार्टलाई जोड्न पहल भइरहे पनि निर्णय हुन बाँकी रहेको बताए । उनले सबैको सहभागिता सुनिश्चिता भएमा बोर्डले सहजीकरण गर्ने पनि बताए । 

सधै पब्लिक हाईस्कुलको मैदानमा हुदै आएको धरान उत्सव यसपाली धरान १६ स्थित रंगशालाको दक्षिणी खाली मैदानमा आयोजना गर्ने निर्णय गरिएको छ । सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठले स्कुललाई असर हुने गरि आयोजना गर्नुभन्दा रंगशालाको जग्गामा गर्नुं उचित भएको बताए । उत्सव पुष २० गतेदेखि २३ गतेसम्म हुनेछ । उत्सव बिहान ७ बजेदेखि राती ९ बजेसम्म हुनेछ भने मादक पदार्थ बिक्री वितरण गर्न प्रतिबन्ध पनि लगाइने भएको छ ।