धरान: डेंगुको आशंका भएका विरामीहरुको लागि धरान उपमहानगरपालिकाले निःशुल्क परीक्षण शिविर शुरु गरेको छ ।

धरान ८ स्थित सभागृहमा उपमहानगरपालिकाले डेंगुको आशंका भएका विरामीहरुको लागि सोमबारदेखि निःशुल्क परीक्षणको व्यवस्था गरेको हो । डेंगुको महामारी फैलिइसके पनि स्थानीय सरकार गम्भीरतापुर्वक नियन्त्रणमा नलागेको र विरामीहरुलाई राहत दिने गरि कार्य नगरेको भन्दै चर्को आलोचना हुन थालेपछि उपममहानगरले निःशुल्क परीक्षणको व्यवस्था गरेको हो । शिविरमा ज्वरो आएका विरामीहरुलाई किटद्धारा डेंगु संक्रमण भएको हो कि होइन भनेर परीक्षण गरिनेछ ।

शिविरलाई धरान पञ्चांग आर्युवेद औषधालयको पनि प्राविधिक सहयोग छ । उक्त औषधालयका वैध लक्ष्मण प्रसाईका अनुसार एनएस वान, आइजिजि र आइजिएम गरि तीन प्रकारको डेंगु हुन्छ । त्यसमध्ये दुई वटा पोजेटिभ भएमा सिबिसि टेष्ट गर्नु अनिवार्य हुन्छ । सिसिबि टेष्ट गर्दा मात्र रगतको मात्रा, प्लेटलेटको अवस्था पत्ता लाग्ने प्रसाईले बताए । उक्त परीक्षण भने यो शिविरमा नभएको र आवश्यक सामग्री प्रबन्ध भएमा गर्नसकिने उनले बताए । 

शिविरको अनुगमनमा पुगेका मेयर हर्क साम्पाङले डेंगुका विरामीलाई छाताचोकस्थित पुरानो अस्पतालमा निःशुल्क उपचारको पनि व्यवस्था गरिने बताए । पुरानो अस्पतालमा प्रदेश स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा २५ बेडको अस्पताल भोली (मंगलबार)देखि शुरु गर्ने तयारी भइरहेको मेयर साम्पाङले बताए । 

धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले डेंगु नियन्त्रणमा आउन नसकेको प्रति स्थानीय सरकार गम्भीर रहेको र मंगलबार यसै बिषयमा कार्यपाकिला बैठक बस्न लागेको बताए । उनले निजी क्लिनिकहरुमा जथाभावी डेंगुको परीक्षण शुल्क लिइरहेकोबारेमा पनि ध्यानाकर्षण भएकोले अनुमगन गर्ने बताए । 

भिडियो: