धरान: डेंगुका विरामीको चाप बढ्दै गएपछि धरानको वडा नं १३ ले आफ्नै वडाको आधारभुत स्वास्थ्य केन्द्रमा उपचार गर्ने व्यवस्था गरेको छ ।

वडा १३ को कार्यालयसँगै रहेको स्वास्थ्य केन्द्रमा आज (सोमबार)देखि उच्च ज्वरो तथा डेंगुका विरामीलाई बेडमा राखेर उपचार गर्न शुरु गरेको हो । वडाअध्यक्ष नेत्र काफ्लेका अनुसार स्वास्थ्य केन्द्रमा भएको ४ वटा बेडलाई उपयोग गरेर उपचार सेवा पनि शुरु गरिएको छ । विरामीको चाप अत्यधिक बढ्न थालेपछि वडामा भएको जनशक्ति तथा भौतिक पुर्वाधारको सदुपयोग गरिएको उनले बताए । 

वडाअध्यक्ष काफ्लेले डेंगुको निःशुल्क परीक्षण गर्न वडाहरुमा नै किट उपलब्ध गराउन पनि माग गरेका छन् । सोमबार (आज)देखि नै धरान उपमहानगरपालिकाले धरान ८ स्थित सभागृहमा डेंगुको निःशुल्क परीक्षण शुरु गरेको छ भने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा पनि डेंगुको निःशुल्क परीक्षण हुन्छ । तर, विरामीहरुलाई सभागृह वा वीपी प्रतिष्ठानसम्म पुग्न यातायात खर्च लाग्ने र गाह्रो पनि हुने भएकोले आफ्नै वडामा परीक्षण गर्न किट दिनुपर्ने उनले बताए । ‘वडाहरुमा आधारभुत स्वास्थ्य केन्द्र बनेको छ, त्यहाँ स्वास्थ्यकर्मीहरु पनि छन् । त्यसैले डेंगुको परीक्षण एक ठाउँमा केन्द्रीत गर्ने भन्दा पनि वडाहरुमै गर्नुपर्छ,’उनले भने,‘जनशक्ति र भौतिक पुर्वाधारको उपयोग गर्नुपर्छ ।’

wada 13 1

वडा १३ स्थित स्वास्थ्य केन्द्रका अनुसार दैनिक कम्तीमा ४० जना ज्वरोका विरामीहरु औषधी लिन आइरहेका छन् । ज्वरो नापेर सिटामोल, जीवन जल लगायत औषधीहरु पनि केन्द्रबाट नै वितरण पनि भइरहेको छ । केन्द्रका इञ्चार्ज सरोज बास्तोलाले विगतमा साधारण उपचार सेवा दिइरहे पनि बेड नै राखेर आजदेखि उपचार शुरु गरिएको बताए । दिउँसो करिब ४ बजेसम्म ४ जनालाई बेडमा राखेर उपचार सेवा दिइएको पनि उनले बताए । विरामीको चाप बढ्दै गएमा बेड पनि उपलब्ध गराउने बास्तोलाले बताए । 

हाल विरामीले डेंगु परीक्षण गरेर आएपछि औषधी र आवश्यक परेमा उपलब्ध भएको औषधी पनि वितरण गर्ने गरिएको केन्द्रका इञ्चार्ज बास्तोलाले बताए । दैनिक कम्तीमा ४० जना मात्र उपचारमा आउदा पनि ८० प्रतिशत जति ज्वरोका विरामीहरु सिटामोल लिन आउने गरेको बास्तोलाले बताए । उनका अनुसार वयस्क उमेरका व्यक्तिहरु जीउ दुख्ने, थकान महशुस, काम गर्न नसक्ने जस्ता लक्षण लिएर आउने गरेका छन् ।

भिडियो: