धरान: स्थानीय सरकार डेंगु महामारी नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न नसकेको भन्दै धरानका राजनीतिक दलहरु प्रदेश सरकारको ध्यानाकर्षण गराउन आज राजधानी विराटनगर जादैछन् । 

राजनीतिक दलको टोलीले मुख्यमन्त्री, स्वास्थ्यमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेतालाई भेटेर धरानको स्वास्थ्य अवस्थाबारे जानकारी दिने र डेंगु नियन्त्रणमा प्रभावकारी कदम चाल्न ध्यानाकर्षण गराउने एमाले धरानका अध्यक्ष हर्कजंग एभेङले जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री उद्धव थापालाई भेटेपछि प्रदेश सरकारका स्वास्थ्यमन्त्रीलाई पनि दलका नेताहले भेट्नेछ । साथै, प्रमुख प्रतिपक्षी दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीलाई पनि धरानको अवस्थाबारे भेटेर ध्यानाकर्षण गराइनेछ । 

‘स्थानीय सरकारबाट डेंगु महामारी नियन्त्रणमा सहकार्य र समन्वय हुन सकेन, र नियन्त्रणमा आउन पनि सकेन । त्यसैले यो बारेमा वास्तविकता जानकारी गराउछौं, र प्रदेश सरकारको ध्यानाकर्षण गराउनेछौं,’एभेङले भने,‘राजनीतिक दलहरुले त सहकार्य गर्न चाहेकै छौं, तर नगर प्रमुखले नै हामीलाई हिलो छ्याप्ने काम मात्र गरे ।’ सहकार्यको प्रस्ताव गर्दा पनि मेयर साम्पाङले तत्परता नदेखाएको र मेयर साम्पाङ एक्लै हिडिरहेको उनले बताए । 

मेयरमा निवार्चित भएदेखि नै मेयर साम्पाङ र धरानका राजनीतिक दलहरुबीच सहकार्य, समन्वय हुन सकेको छैन । मेयर साम्पाङ आफ्नो अभियानमा राजनीतिक दलहरुले अवरोध गर्ने प्रयास गरिरहेको आरोप लगाउछन् भने राजनीतिक दलहरु मेयर साम्पाङ नीति, विधि र प्रक्रिया विपरीत हिडेकोले मात्र आफुहरुले सजग गराउन आलोचना गर्नुपरेको बताउदै आएका छन् । डेंगु नियन्त्रणमा पनि मेयर साम्पाङ र राजनीतिक दलहरुबीच सहकार्य देखिएको छैन । दुवै पक्ष एकअर्कालाई आरोप प्रत्यारोप गरिरहेका छन् । 

राजनीतिक दलहरुले डेंगु नियन्त्रणमा आफ्ना कार्यकर्ताहरु परिचालन नगरेको र मेयर नै घर घरमा आएर लार्भा नष्ट गर्नुपर्ने भनेर रमिते बनेको मेयर साम्पाङले अभिव्यक्ति दिदै आएका छन् । उनको अभिव्यक्तिबाट चिढिएका दलहरु पनि मेयर साम्पाङ परिणाममुखी काम भन्दा प्रचारबाजीमा रमाइरहेको भन्दै आलोचना गरिरहेका छन् । मेयर साम्पाङले दलहरुले सर्च एण्ड डिष्ट्रोय नगरेको आरोप लगाएपनि केही राजनीतिक दलहरु भने फिल्डमै उत्रिएर अभियान चलाएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालले धरानमा डेंगुको सबैभन्दा बढी प्रभावित वडाहरुमा सर्च एण्ड डिष्ट्रोय अभियानसँगै औषधीहरु पनि वितरण गरेको थियो भने नेपाली कांग्रेसले क्लिन एण्ड ग्रिन अभियानसँगै डेंगुबारे सचेतना अभियान पनि चलाइरहेको छ ।

एमाले अध्यक्ष एभेङले डेंगु नियन्त्रणबारे एक पटक ठोस कार्ययोजना विना मेयर साम्पाङले राजनीतिक दलहरुलाई बोलाएर सामान्य संवाद मात्र गरेको बताउँछन् । ‘उहाँले सबै दलहरुलाई बोलाउनुभयो, र आफ्नो कुरा राख्नुभयो । सर्च एण्ड डिष्ट्रोय अभियान चलाउने हो, सहयोग गर्नुपर्यो भन्नुभयो,’उनले भने,‘त्यसपछि के योजना बन्यो, अभियानलाई कसरी अघि बढाउने हो भनेर समन्वय, सहकार्य केही भएको छैन । उहाँ एक्लै अघि बढीरहनुभएको छ, र राजनीतिक दल, टिएलओहरुलाई गाली मात्र गरिरहनुहुन्छ ।’