धरान: डेंगुबाट धरान १६ का एक ९ बर्षीय बालकको मृत्यु भएको छ । 

विराटनगरको बिग हस्पिटलमा आइसियुमा राखेर उपचाररत अवस्थामा उनको हिजो (सोमबार) मृत्यु भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महशाखाले पुष्टि गरेको छ । बालकको मृत्युसँगै धरानमा डेंगु लागेर मृत्यु हुनेको संख्या ११ पुगेको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार मृतक बालकलाई साउन २६ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि अभिभावकले लगेका थिए ।

परीक्षण गर्दा डेंगु पोजेटिभ देखिएको र अवस्था गम्भीर भएकोले आइसियु आवश्यक भएको थियो । तर, वीपी प्रतिष्ठानमा आइसियु अभावले उनलाई विराटनगर रिफर गरिएको थियो । विराटनगरमा उपचारको क्रममा सोमबार निधन भएको जानकारी आज (मंगलबार) बिहान ९ बजे प्राप्त भएको महाशाखा प्रमुख मेहताले जानकारी दिए । ‘दिउँसो रिपोर्ट पनि मगाएर हेर्यौ । डेंगु भएको रिपोर्ट छ । परिवारमा सम्पर्क गरेर थप विवरण लिन्छांै,’ उनले भने । 

धरानमा हालसम्म डेंगु लागेका ११ जनाको मृत्यु भइसकेको छ । ती मध्ये ६ जना महिला र ५ जना पुरुष छन् । मृतकमध्ये २ जनाको मृत्युको कारण डेंगु मात्र (डेंगु सक सिन्ड्रम) देखिएको छ भने अन्य ९ जना मृतकहरु विभिन्न दीर्घ रोगी पनि थिए । हालसम्म मृत्यु हुनेहरुमा वडा नं ११ का ४ जना, वडा २, ५, १०, १५, १६, १७ र १८ का एक एक जना छन् । 

हालसम्म १५ हजार ८१० जनाको डेंगु परीक्षण भइसकेको छ । ती मध्ये ११ हजार ३७३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । डेंगु संक्रमण दर ७१ प्रतिशत रहेको पनि मेहताले जानकारी दिए ।