धरान: करिब २ महिनाको अवधिमा धरानमा डेंगु संक्रमणले महामारीकोरुप लिएर ११ जनाको मृत्यु भइसकेको छ । मृतकको संख्या बढ्दै जादा स्थानीय सरकारप्रति असन्तुष्टी र आक्रोश सामाजिक सञ्जालमा प्रटक भइरहेको छ । 

दुई दिनअघि मात्र धरान १६ का ९ बर्षीय बालकको डेंगुले मृत्यु भएपछि प्रभावकारी कदम नचालेको भन्दै स्थानीय सरकारको चर्को आलोचना भइरहेको छ । चौतर्फी आलोचना भएपछि आज (बुधबार) मेयर हर्क साम्पाङले पत्रकार सम्मेलन गरेका थिए । उक्त पत्रकार सम्मेलनमा स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले डेंगु संक्रमित ११ जनाको मृत्यु भएपनि वास्तविकरुपमा डेंगुले मात्र मृत्यु हुनेको संख्या २ जना मात्र भएको बताए । 

मेहताका अनुसार ९ जना विभिन्न दीर्घ रोगीहरु पनि थिए । त्यसैले उनीहरुलाई डेंगु नहुदा पनि मृत्यु हुनसक्ने उनले बताए । ‘डेंगु भएको बेला घटना भएकोले मात्र जोडिन आएको हो । डेंगु नहुदा पनि उहाँहरुको मृत्यु हुनसक्थ्यो,’उनले भने,‘वास्तविकरुपमा डेंगुले मात्र मृत्यु भएको भन्ने हो भने २ जना मात्र हो ।’ यही कारणले पनि इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले पनि धरानको डेंगुले मृत्यु भएको तथ्यांक २ जनाको मात्र दर्ता गरेको छ । धरानमा ११ जना संक्रमितको मृत्यु भइसक्दा इपिडियोमोलोजीको तथ्यांकमा भने नेपालभरि हालसम्म ८ जनाको मात्र मृत्यु भएको समावेश छ ।    

मेहताले डेंगु महामारी नियन्त्रणमा सर्च एण्ड डिष्ट्रोय अभियान निरन्तर भइरहेको बताए । साथै, विरामीहरुलाई निःशुल्क परीक्षण र उपचारको पनि व्यवस्था गरिएको बताए । 

जनस्वास्थ्यको आपतकालिन अवस्था किन घोषणा गर्नुपर्यो ? 

गएको शुक्रबार जिल्ला विपद् व्यवस्थापन समिति सुनसरीले धरानलाई डेंगु संक्रमण नियन्त्रण नआएसम्म जनस्वास्थ्यको आपतकालिन अवस्था घोषणाको लागि आग्रह गर्ने निर्णय गरेको थियो । बैठकले नेपाल सरकारको गृह मन्त्रालय र प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गर्यो । 

यो निर्णय भएको ५ दिन बितिसक्दा पनि धरान जनस्वास्थ्यको आपतकालिन अवस्था घोषणा भएको छैन । मेयर साम्पाङले आपतकालिन अवस्था घोषणा गर्नु नपर्ने धारणा व्यक्त गरे । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आपतकालिन अवस्था घोषणा गरिराख्न पर्छ र ? घोषणा मात्र गर्दा के होला र ? त्यस्तो आलर्म बजाउनुपर्छ भन्ने लाग्दैन । लार्भा खोजेर मारौं न । आफ्नो काम चै नगर्ने ।’ मेयर साम्पाङले केही वडा र टिएलओहरुले लार्भा मार्ने काम नगरेकोमा असन्तुष्टी पनि जनाए । टिएलओहरु सक्रिय नभएको भन्दै उनले अब टोल टोलमा डेंगु मार्ने समिति गठन गर्ने पनि बताए । 

भिडियो: