धरान: डेंगु नियन्त्रणमा आवश्यक समन्वय नगरेको भन्दै आलोचना खेपिरहेका मेयर हर्क साम्पाङले बिहिबार भने धरानका विभिन्न सामाजिक संघसंस्थाहरुसँग छलफल गरेका छन् ।

उक्त छलफलले डेंगु नियन्त्रणको प्रयास भइरहे पनि प्रभावकारी हुन नसकेको निष्कर्ष निकाल्दै सातामा २ दिन सबैले आआफ्नो क्षेत्रमा सर्च एण्ड डिष्ट्रोय गर्ने निचोड निकालेको छ । बैठकमा मेयर साम्पाङले प्रत्येक मंगलबार र शुक्रबार डेंगु नियन्त्रणका लागि सर्च एण्ड डिष्ट्रोय अभियान चलाउन गरेको प्रस्तावलाई संघसंस्थाका प्रतिनिधिहरुले सहमति जनाएका थिए । छलफलमा मेयर साम्पाङले संस्थागतरुपमा र आआफ्नो टोलमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानको नेतृत्व गर्न आग्रह गरेका थिए । एक सातामा ३ दिनको फरकमा लार्भा खोजेर नष्ट गरेमा नयाँ लामखुट्टे उत्पादनको चक्र रोकिने र डेंगु महामारी पनि नियन्त्रणमा आउने विज्ञहरुको भनाई छ ।

meeting2

डेंगु नियन्त्रणको लागि सबैभन्दा प्रभावकारी कदम लार्भालाई नष्ट गर्नको लागि सर्च एण्ड डिष्ट्रोय अभियान हो । लामखुट्टेको अण्डाबाट लार्भाकोरुपमा विकास भएको बेला नै खोजी र नष्ट गर अभियानमा सबैले ध्यान नदिदा डेंगु महामारी नियन्त्रणमा आउन सकेको छैन । त्यसैले यो अभियानलाई प्रभावकारीरुपमा सञ्चालन गर्न सामाजिक संघसंस्थासँग समन्वयात्मक बैठक गरेको सामाजिक विकास महाशाखा प्रमुख प्रज्ञा निरौलाले जानकारी दिइन् । 

meeting1

छलफलमा आदिबासी जनजाति महासंघ नगर समन्वय परिषद धरानका अध्यक्ष सुवास हुक्पाचोङवाङले संघसंस्थाहरुलाई सबैभन्दा बढी प्रभावित वडामा सर्च एण्ड डिष्ट्रोयको जिम्मेवारी दिएर परिचालन गर्न आग्रह गरेका थिए । उनकै आग्रह वमोजिम मेयर साम्पाङले महासंघलाई वडा नं १५ को सेउती खोला किनारका वस्तीहरुमा अभियान चलाउने जिम्मेवारी दिएका छन् ।

छलफलमा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा टिएलओका प्रतिनिधिहरुले आवश्यक सामग्री र औषधी पनि उपमहानगरपालिकाबाट सहयोग हुनुपर्ने माग राखेका थिए । साथै, डेंगुका विरामीलाई नरिवलको जुस, जीवनजल चिकित्सकको सल्लाह विना पिउदा स्वास्थ्यमा झन् समस्या हुने भएकोले जथाभावी नपिउनुपर्ने पनि धारणा राखेका थिए ।