धरान: डेंगु महामारीले ग्रस्त धरानलाई जनस्वास्थ्यको आपतकालिन अवस्था घोषणा गरेर नियन्त्रण र उपचारमा जुट्न सांसदहरुले कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार शुरु भएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दे सांसदद्धय रमेशकुमार बस्नेत, निरादेवी खनाल र ममता तामाङ मगरले यस्तो माग गरेकी हुन् । बस्नेत सुनसरी क्षेत्र नं १ (क)बाट प्रत्यक्षतर्फ निवार्चित सांसद हुन् । तामाङ बराहक्षेत्र नगरपालिका निवासी र खनाल पनि सुनसरीकै समानुपातिक सांसद हुन् ।

सांसद बस्नेतले गत बैशाखदेखि धरानमा शुरु भएको डेंगु प्रकोप नियन्त्रणबाहिर गइसकेकोले २० दिन अघि नै आफुले लिखितरुपमा प्रदेश सरकारलाई जानकारी गराएको पनि बताए । साथै, जिल्ला विपद व्यवस्थापन समितिले ८ दिन अघि धरानलाई जनस्वास्थ्यको आपतकालिन क्षेत्र घोषणा गर्न निर्णयसहित आन्तरिक मामिला मन्त्रालयमा पत्राचार गरेपनि ढिलाई भइरहेकोमा सांसद बस्नेतले असन्तुष्टी प्रकट गरे ।

धरानमा डेंगुको अवस्था भयावह भएपनि तीन सहको सरकार कहाँ के गर्देछ भन्ने थाह नभएको र जनता सरकारविहिन अवस्थाबाट प्रताडित बनेको पनि सांसद बस्नेतले बताए । उनले एकीकृत र समन्वयात्मक प्रयत्नको अभावमा थप जनता मरेर वंगलादेशको अवस्था आउन नदिन जनस्वास्थ्यको आपतकालिन अवस्था तत्काल घोषणा गर्न पनि प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।

‘जसले त्यहाँको डेंगु नियन्त्रणको लागि पहिलो स्टेप सर्च एण्ड डिष्ट्रोय, दोस्रो स्टेप लार्भाबाट लामखुट्टे बनिसकेकोलाई मार्न स्प्रे गर्ने काम गर्नुपर्छ,’ प्रदेशसभामा सांसद बस्नेतले भने,‘तेस्रो स्टेपमा उपचारको गर्नुपर्छ । धरानमा नेपाल सरकारको आधिकारिक अस्पताल छैन, त्यहाँ निःशुल्क उपचार हुनसक्दैन । त्यसकारण उपचारसमेतको लागि चाडो भन्दा चाडो धरानलाई जनस्वास्थ्यको आपतकालिन क्षेत्र घोषणा गरियोस्, म यो सभामार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराउन चाहन्छुँ ।’

यस्तै, सांसद तामाङले पनि धरान र बराहक्षेत्रमा डेंगु महामारी फैलिएको र जनताको जीवन रक्षा गर्ने जिम्मेवारी प्रदेश सरकारको भएकोले सुनसरी क्षेत्र नं १ र विभिन्न जिल्लामा डेंगु प्रकोप पहिचान गरेर संकटकाल घोषणा गर्न माग गरिन् । साथै, छिटोभन्दा छिटो उपचारको व्यवस्था गर्न पनि प्रदेश सरकारको उनले ध्यानाकर्षण गराइन् ।

चतरा अस्पतालमा तन्ना भुईमा ओछ्याएर उपचार गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले धरानमा पनि अवस्था उस्तै रहेको बताइन् । उनले प्रदेश सरकार अभिभावक भएकोले डेंगु महामारीमा स्वास्थ्य मन्त्रालयलाई बिशेष कार्यक्रम तय गर्न ध्यानाकर्षण गराइन् । साथै, सांसद तामाङ मदन भण्डारी राजमार्गमा पर्ने बाघ खोलामा हालसम्म पुल नबन्दा मानिस बगाएर ज्यानसमेत गइरहेकोमा पनि प्रदेश सरकारको ध्यानाकर्षण गराइन् । उक्त खोलामा ३ बर्षभित्र पुल निर्माण गर्न ठेक्का लागिसकेर पनि १ बर्ष समय बितिसकेको तर हालसम्म पुल निर्माण कार्य सुरु नभएकोमा प्रदेशसभामार्फत सांसद तामाङले सरकारको ध्यानाकर्षण गराइन् ।

यस्तै, सांसद खनालले पनि धरानमा मात्र १० हजार बढी संक्रमित पुष्टि भएको र संख्या निरन्तर बढीरहेको भन्दै अस्पतालमा शैया अभावले उपचार प्रभावकारी नभएको बताइन् । उनले कोशी प्रदेश सरकारले प्रभावकारीरुपमा निःशुल्क उपचार अवलम्बन गर्न र मृतकलाई क्षतिपूर्तिको व्यवस्था गर्न पनि माग गरिन् ।