धरान: डेंगु महामारी नियन्त्रणमा सहयोग गर्न धरानका राजनीतिक दलहरुले प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको ध्यानाकर्षण गराएका छन् । 

धरानका विभिन्न ६ राजनीतिक दलका नेता, प्रदेशसभा सदस्यहरु, पुर्वजनप्रतिनिधिहरुसहितको संयुक्त टोलीले शनिबार विराटनगरमा मुख्यमन्त्री थापालाई भेटेर ध्यानाकर्षण गराएका हुन् । उनीहरुले स्वास्थ्यमन्त्री निर्मला लिम्बु र प्रतिपक्षी दल एमालेका नेता हिक्मत कार्कीलाई पनि ध्यानाकर्षंण पत्र बुझाएका छन् । राजनीतिक दलहरुले मुख्यमन्त्री थापालाई डेंगु नियन्त्रणको लागि आवश्यक पर्ने स्वास्थ्य समग्रीहरुको लिष्ट पनि बुझाउदै चाडो उपलब्ध गराउन माग गरेका छन् ।

धरानका प्रमुख ६ राजनीतिक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एस र राप्रपाले प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो । नेपाली कांग्रेस धरानका सभापति श्याम पोखरेलले मुख्यमन्त्री थापाले आवश्यक पर्ने सामग्रीहरु चाडै पठाइदिने प्रतिवद्धता जनाएको जानकारी दिए । उनले भने, ‘भेट एकदमै सकरात्मक भयो । चाडै पठाइदिन्छौं भन्नुभएको छ ।’ 

राजनीतिक दलहरुले जिल्ला विपद व्यवस्थापन समितिले जनस्वास्थ्य संकटकाल घोषणा गर्न सिफारिश गरिसकेको र डेंगुले विकाराल अवस्था भएपनि स्थानीय सरकार प्रमुख भने केही नभएजस्तो दम्भ र अहंकारपुर्ण अभिव्यक्ति दिदै बसेको पनि बताएका छन् । मुख्यमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ,‘डेंगुका कारण केवल १, २ जना मात्रै मृत्यु भएको अरु दीर्घरोगी मात्रै मृत्यु भएको भन्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिइरहेका छन् ।’

धरानका राजनीतिक दलहरुले आफ्नै बलबुताले विरामीको उपचार र डेंगु नियन्त्रणको प्रयास गरिरहको भन्दै दलहरुबाटै निवार्चित जनप्रतिनिधिहरुले पनि वडामा निःशुल्क उपचार शिविर चलाएको पनि ध्यानाकर्षण पत्रमा उल्लेख छ । डेंगु महामारी नियन्त्रणको लागि भइरहेको प्रयासहरु पर्याप्त नभएको भन्दै दलहरुले प्रदेश सरकार र संघीय सरकारबाट अहिलेसम्म कुनै प्रकारको सहयोग नहुनु दुःखलाग्दो कुरा भएको पनि उल्लेख छ । पार्टीका नेताहरुसँगै पुर्व प्रतिनिधिसभा सदस्य जयकुमार राई, पुर्व धरान नगर प्रमुख तिलक राई, प्रदेश सांसदहरु रमेश बस्नेत, विजय राई, यशोदा कायस्थ, ममता तामाङ पनि भेटमा सहभागी थिए ।

dengu politics

dengu plit