धरान: धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तिलक राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आन्तरिक समस्यामा रुमल्लिइरहेको भन्दै वर्तमान अवस्थाबारे चिन्ता प्रकट गरेका छन् ।

निवर्तमान मेयर राईले क्लिकधरानसँगको बिशेष कुराकानीको क्रममा करिब १७ बर्षअघि नागरिक अनुगमन तथा सरोकार मञ्चले आयोजना गरेको सार्वजनिक सुनुवाईको स्मरण गर्दै भने, ‘त्यो बेला वीपीको सेवा सुविधा, उपचारबारे जनताको गुनासो थियो । अहिले डाक्टरहरुको आन्तरिक सेवा सुविधा, बढुवाको कुरा, डाक्टरहरुको अस्वस्थ्य प्रतिस्पर्धामा रुमल्लिएको छ । पदाधिकारीहरु, कास, विभागीय प्रमुख, डाक्टरहरुको कर्तव्य र भुमिकामा नै अलमलिएको जस्तो देखिन्छ ।’

सिनियर डाक्टरहरुको बढुवा हुनुपर्ने तर लामो समयदेखि रोकिएको कारण अहिलेको समस्या देखिएको भन्दै पुर्वसिनेटर एवं मेयर राईले प्रतिष्ठान हाम्रो हो भनेर डाक्टरहरु अघि बढ्नुपर्ने पनि धारणा राखे । ‘त्यहाँका धेरै डाक्टरहरु प्रतिष्ठान हाम्रो हो भनेर अघि बढ्नुपर्छ । उहाँहरुको भविष्य छ, करियर छ । यही पढेर प्रोफेसर हुनुभएको छ, कति बीचमा आएपनि प्रोफेसर हुने लाइनमा हुनुहुन्छ,’ राईले भने,‘शिक्षक, विद्यार्थी, कर्मचारीहरुको भविष्य यही हुनुपर्छ ।’

पदाधिकारीहरु भएर आएकाहरुले पनि प्रतिष्ठानका सबैलाई सिंगो परिवारकोरुपमा हेरेर नेतृत्व गर्नुपर्ने उनले बताए । साथै, पदाधिकारीहरुलाई पनि अन्य सबैले साथ दिनुपर्ने उनको भनाई छ । ‘वीपीको उत्थान, प्रगतिमा, उपचारमा, अध्ययन, अनुसन्धानमा लाग्नुपर्छ । तर अहिलेसम्म बुझ्दा पछिल्लो समय जो पदाधिकारी हुन्छन्, भिसि भएर आउछन्, उनलाई असहयोग गर्ने र अरु पदाधिकारी हुनखोज्ने देखिन्छ,’ निवर्तमान मेयर राईले भने,‘यो क्रम चलिरह्यो भने त जो भिसि बनेपछि अरु बाँकीले सहयोग नगर्ने भयो । त्यसैले हामी नगरबासीको हैसियतले आग्रह के छ भने जो आएपनि प्रतिष्ठानको हितमा काम गर्नुपर्छ ।’

Tilak rai

पदाधिकारीहरुले पनि परिवारलाई राम्रो सेवा, सुविधा दिएर वृत्तिविकासमा लाग्नुपर्ने भएपनि समन्वय नभइरहेको उनले बताए । वर्तमान कार्यबाहक भिसिले निर्णय लिन नमान्ने र अरुले यही बेला किन दबाब नदिने भन्ने खेलले समस्या निम्तिने उनको भनाई छ । ‘त्यसैले स्वार्थ भन्दा पनि प्रतिष्ठानको हितमा, सिनियर डाक्टरको वृत्ति विकासमा लाग्नुपर्छ,’उनले भने ।

विगतमा प्रतिष्ठानको सिनेट बैठक हुँदा आफ्नो तितो अनुभव रहेको पनि उनले सुनाए । पदाधिकारीहरुले सिनेटमा लैजाने एजेण्डाबारे धरानमा भएका सिनेटरहरुसँग पनि समन्वय, छलफल नगर्ने चलन रहेको उनले बताए । ‘यहाँको ४ जना पदाधिकारीहरु, कास र स्थानीय हामी सिनेटहरु हुन्छौं, तर पदाधिकारीहरुले यहाँका सिनेटरहरुसँग सल्लाह विना एजेण्डा लैजान्छन् । समन्वय विना एजेण्डा लैजादा मेयरले के बोल्ने ?’ उनले भने,‘सिनेटरहरु पनि धेरै काठमाण्डौं तिरका छन्, अन्य प्रतिष्ठानका भिसि सिनेटर छन्, उनीहरुलाई यहाँको के मतलव ? तसर्थ काठमाण्डौं केन्द्रीत निर्णय हुने देखिन्छ ।’ राईले सिनेटरको नियुक्ती हुने कानुनी प्रावधान संशोधन गरेर स्थानीय एवं सरोकारवाला व्यक्तिहरुलाई प्राथमिकता दिने व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको पनि औल्याए ।

प्रतिष्ठानका पदाधिकारी नियुक्ती राजनीतिक हस्तक्षेप तथा भागवण्डाबाट हुने भएकोबारे राईले अब दल र नेतृत्वहरु सच्चिनुपर्ने र प्राज्ञिक थलोमा प्राज्ञिकरुपमा नै नियुक्ती हुनुपर्ने धारणा राखे । उनले भने,‘अब दलहरु र नेतृत्वले सोच्ने बेला आयो । एकेडेमिक, प्राज्ञिक कुरामा प्राज्ञिकरुपमा नै नियुक्ती र बढुवा हुनुपर्छ, सिस्टम बसाईदिनुपर्छ, र विवाद हुदैन । कस्तो व्यक्ति भिसि, रेकटर, डाइरेक्टर भएर आउने भन्ने कुरा सिस्टम बसाइदिनुपर्छ । राजनीतिक नियुक्ती नगरि प्राज्ञिकरुपमा नै हुने व्यवस्था गर्नुपर्छ । प्राज्ञिक व्यक्तिहरुले पनि राजनीतिकरुपमा कर्महरु गर्नुहुदैन ।’

भिडियो: