धरान: चिकित्सक शिक्षकहरुको आन्दोलनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा पनि प्रभावित भएपछि हिजो साँझ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ प्रतिष्ठान पुगेर छलफल गरेका छन् ।

मेयर साम्पाङले आन्दोलनरत चिकित्सकहरुको माग र उपचार सेवा प्रभावित भएको बिषयमा गम्भीरतापुर्वक चासो व्यक्त गरेका थिए । प्रतिष्ठानका सिनेट सदस्यसमेत रहेका मेयर साम्पाङलाई अस्पताल निर्देशक डा.जगत नारायण प्रसादले ब्रिफिङ गरेका थिए । ‘पदाधिकारीमा डाइरेक्टर मात्र हुनुहुन्थ्यो । उहाँले अन्य पदाधिकारीहरु किन काठमाण्डौं गएको हो भनेर मेयर साबलाई ब्रिफिङ गर्नुभयो,’छलफलमा सहभागी एक डाक्टरले भने ।

मेयर साम्पाङले अस्पताल सेवा प्रभावित हुन नदिन र विरामीले दुःख पाउन नहुने धारणा राखेको ती डाक्टरको भनाई छ । ‘स्थानीय प्रमुख पनि भएकोले उपचार सेवा नपाएको धेरै गुनासो उहाँलाई पुगेको रहेछ । उहाँले सेवा सुचारु गर्नुस्, र वार्ताबाट नै जतिसक्दो समस्या हल गर्नुपर्छ पनि भन्नुभयो,’ उनले थपे । छलफलमा अस्पताल निर्देशक डा.जगतप्रसाद नारायण, डेपुटी अस्पताल निर्देशक डा.इन्द्र लिम्बुसँगै केही आन्दोलनरत डाक्टरहरु पनि सहभागी थिए ।