धरान: राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर मेयर हर्क साम्पाङले कार्यकक्षबाट हटाएको बिषयले प्रभावित बनेको कार्यपालिका बैठकमा आज उपमेयर अइन्द्रबिक्रम बेघा भने अनुपस्थित थिए । बैठक उनले बहिष्कार गरेको चर्चा चलेको थियो ।

बैठकमा सहभागी नभएका उपमेयर बेघाले प्रेश विज्ञप्ती जारी गर्दै मेयर साम्पाङले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएकोप्रति दुःख व्यक्त गर्दै माफी पनि मागेका छन् । उनले संविधानको मर्म र भावना अनुसार संविधानले प्रदत्त गरेको सिमा र घेराभित्र रहेर तीनै तहको सरकारको भुमिकालाई प्रभावकारी बनाउन, एक अर्काको परिपुरक बनाउन तहगत सम्बन्ध र जिम्मेवारीलाई सम्मानित, मर्यादित बनाउन सबैको दायित्व र जिम्मेवारी भएको पनि उल्लेख गरेका छन् ।

उपमेयर बेघाले नगर प्रमुख जिम्मेवार भएर सबै तह र तप्कालाई समेटेर अघि बढ्न पनि उनले विज्ञप्तीमार्फत आग्रह गरेका छन् । ‘व्यक्तिगत र एकल ढंगले होइन, सामुहिक तरिका र आधिकारिताले मात्रै जिम्मेवारीको ओज र गरिमा कायम राखेर परिणाम निकाल्ने कुरासमेत अनुरोध गर्दछुँ,’ विज्ञप्तीमा भनिएको छ । 

बैठकमा जान मन नलागेरै नगएको: उपमेयर बेघा

उपमेयर बेघाले क्लिकधरानसँग फोन सम्पर्कमा आजको कार्यपालिका बैठकमा जान मन नलागेरै नगएको प्रतिक्रिया दिए । उनले नेतृत्व जिम्मेवार भएर सबैलाई मिलाएर लैजानुपर्ने पनि बताए । उपमेयर बेघाले झगडाले कसैलाई पनि फाइदा नगर्ने धारणा व्यक्त गर्दै मिलेर एकले अर्कालाई सम्मान गरेर अघि बढ्ने वातावरण नेतृत्वले बनाउनुपर्ने पनि बताए ।

‘बैठकमा जान मन नलागेर नै नगएको हो, मनै लागेन,’उनले भने,‘नेतृत्व जिम्मेवार भएर सबैलाई मिलाएर जानुपर्छ । सबैको भावनालाई मिलाउनुपर्छ । झगडाले कसैलाई पनि फाइदा गर्दैन, मिलेर एकअर्कालाई सम्मान गरेर अघि बढ्ने वातावरण बनाउनुपर्छ ।’

deputy mayor