धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या हल गर्न तत्काल कार्यकारिणी समिति बैठक राख्न स्वास्थ्य मन्त्री र नेपाल सरकारका मुख्यसचिवले पदाधिकारीहरुलाई निर्देशन दिएका छन् ।

बढुवा प्रक्रिया सुचारु नभएपछि शिक्षक र कर्मचारीहरुले पठनपाठन र उपचार सेवासमेत प्रभावित हुने गरि आन्दोलन चर्काएपछि चारै जना पदाधिकारीहरु निकास खोज्न काठमाण्डौं पुगेका छन् । उनीहरुसँगै विभिन्न ५ राजनीतिक दलका नेतृत्व पनि समस्या समाधानको लागि पहल गर्न काठमाण्डौं गएका थिए । पदाधिकारीहरुसँग हिजो बुधबार स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले छलफल गरेका थिए भने आज पनि मन्त्री बस्नेतसँग छलफल भएको थियो । 

bp politics

मन्त्री बस्नेतले छलफल पश्चात मुख्य सचिव बैकुण्ठ अर्याललाई भेट्न निर्देशन दिएको र अर्यालले कार्यकारिणी समिति बैठक बसेर निकास दन निर्देशन दिएको प्रतिष्ठानका रेक्टर प्रा.डा.सञ्जिव शर्माले जानकारी दिए । उनले भने,‘मन्त्री ज्युले मुख्यसचिवको जानु, आवश्यक निर्देशन दिनुहुन्छ भन्नुभयो । मुख्यसचिवले का.स.बैठक बसेर निकास दिनुभन्नुभएको छ । बैठक भोली बस्ने भनेको छ, भिसि सरले कतिखेर बोलाउनुहुन्छ ।’ चारै जना पदाधिकारीहरुसँग धरानबाट गएको राजनीतिक दलका नेतृत्वहरुले पनि आजै छलफल गरेका थिए ।

यसअघि पुष २५ गते आफैले कार्यकारिणी समिति बैठक बोलाएर कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्की विदामा बसेका थिए । उनी विदामा बसेपछि का.स.बैठक नभएपछि आक्रोशित शिक्षक, कर्मचारीहरुले आन्दोलन चर्काउदै का.मु.उपकुलपति कार्कीलाई प्रतिष्ठानमा निषेधित क्षेत्र घोषणा गरेका थिए । 

वीपीको समस्या हल गर्न दलहरुको पनि दौडधुप

विरामीको उपचार सेवा र विद्यार्थीहरुको पढाई ठप्प हुने गरि वीपी प्रतिष्ठानमा शिक्षक, कर्मचारीहरुको आन्दोलन चर्किएपछि धरानका राजनीतिक दलका नेतृत्व पनि काठमाण्डौं गएको थियो । उक्त टोलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, सरकारका मुख्यमचिव बैकुण्ठ अर्याल र प्रतिष्ठानका चारै जना पदाधिकारीहरुलाई भेटेर प्रतिष्ठानको समस्या हल गर्न आग्रह गरेको थियो ।

bp politics1

दलहरुको टोलीमा सहभागी वडा नं १८ का अध्यक्ष एवं कांग्रेस नगर उपसभापति नरेन्द्रकुमार राई (प्रविण)का अनुसार शुरुमा कांग्रेस सभापति देउवासँग भेटवार्ता भएको थियो । सभापति देउवाले स्वास्थ्यमन्त्री बस्नेतलाई फोन गरेपछि मध्याह्न १२ बजे समय दिएका थिए । ‘मन्त्रीले डेढ घण्टा समय दिनुभयो, हामीले वीपीको अवस्थाबारे ब्रिफिङ गर्यौं,’उनले भने,‘मन्त्री ज्युले सबै कुरा बुझ्नुभएको रहेछ । मुख्य सचिवलाई आवश्यक निर्देशन दिएको पनि बताउनुभयो ।’

दलहरुको टोलीले मुख्यसचिव अर्याललाई पनि भेटेर समस्या समाधानबारे छलफल गरेको थियो । समस्या हल गर्न तत्काल कार्यकारिणी समिति बैठक बसेर सिनेट बैठक र पदोन्नतिबारे निर्णय गर्ने गरि पदाधिकारीहरुलाई निर्देशन दिएको मुख्यसचिव अर्यालले जानकारी दिएको जसपा धरानका अध्यक्ष ताजुब लिम्बुले बताए । ‘पुरानो नियमावली अनुसारको पदोन्नतिलाई स्वीकृति दिएर निरन्तरता दिने र नयाँ नियमावली सिनेटले पास गर्ने,’उनले भने । का.स.ले निर्णय गरेपछि सहकुलपति एवं स्वास्थ्यमन्त्रीको निर्देशन अनुसार २१ दिनको समय राखेर सिनेट बैठकको आह्वान हुनेछ । प्रतिष्ठानका सिनेट सदस्यहरुलाई २१ दिन अगावै एजेण्डासहित पत्राचार गर्नुपर्ने नियम छ । 

दलहरुको टोलीमा कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्मा, नेकपा एसका केन्द्रीय सदस्य जीवन राई, पुर्वमेयर तिलक राई, कांग्रेस नगर सभापति श्याम पोख्रोल, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), एमाले धरान अध्यक्ष हर्कजंग एभेङ, जसपा अध्यक्ष ताजुब लिम्बुलगायत सहभागी थिए ।