धरान : पुरानो बाटो सञ्चालनमा ल्याउनुपर्ने जनताको माग ठिक भएपनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गेट डोजर लगाएर भत्काउनु गल्ती भएको अगुवाई गर्ने माओवादी नेताहरुले स्वीकार गरेको छ । 
शनिबार डोजर लगाएर प्रतिष्ठानको दक्षिण पुर्वी गेट भत्काउदा तीब्र आलोचना खेपेपछि नेतृत्व गरेका माओवादी नेताहरुले गल्ती स्वीकार गरेका हुन् । उक्त घटनामा रामधुनी नगरपालिका पञ्चायनका डोजर अपरेटर र मालिक मात्र पक्राउ परेका छन् । भत्काउन लगाउनेहरुलाई छोडेर निर्दोष श्रमिक पक्राउ परेको कारण पनि नेतृत्वकर्ता माओवादी नेताहरु नैतिक संकटमा परेका थिए । नेकपा माओवादी केन्द्र वडा नं १९ कमिटीले पुरानो बाटो खोल्ने निर्णय गरेको थियो । 
डोजर अपरेटर र मालिकलाई म्याद थप हुन नदिन गरेको प्रयास पनि विफल भएपछि प्रतिष्ठानसँग आइतबार र सोमबार निरन्तर माओवादी नेताहरु सन्तोष लिम्बू, सन्त तेम्बे वार्ता बसेका थिए । वार्तामा लिखित सहमति भइनसके पनि गेट भत्काउन अगुवाई गर्ने नेताहरुले गलत भएको स्वीकार गरेका छन् । उनीहरुले क्षमा याचना गर्ने, भत्केको गेट बनाइदिने प्रतिवद्धतासहित निर्दोष पक्राउ परेकाले छुटाउन सहजीकरण गर्न आग्रह गर्दै प्रतिष्ठानमा निवेदनसमेत दिएका छन् । 
वार्तामा सहभागी प्रतिष्ठानका पदाधिकारी र उच्च तहका कर्मचारीहरुले प्रतिक्रिया दिन मानेका छैनन् । रजिष्ट्रार प्रा.डा.सुर्यप्रसाद संग्रौलाले कायममुकायम उपकुलपतिले आफुलाई प्रत्योजन गरेको सम्पुर्ण अधिकार फिर्ता गरेको कारण उक्त वार्तामा नबसेको र के सहमति भयो भन्ने जानकारी पनि नआएको बताए । ‘सहमति भइसकेको छैन । गल्ती स्वीकार गर्ने, सार्वजनिक सम्पत्ति तोडफोड नगर्ने भनेर निवेदन आएको छ, निर्णय केही भएको छैन,’एक कर्मचारीले भने ।
माओवादी नेता सन्तोष लिम्बुले पनि आफुहरुले क्षमयाचना गर्ने, गेट बनाइदिने र निर्दोष पक्राउ परेकोले सहजीकरण गर्ने आग्रहको प्रतिवद्धता पत्र प्रतिष्ठानमा दिएको स्वीकार गरे । ‘जनताको माग र मुद्दा सही हो, तर डोजर लगाउनु गलत भयो । क्षमा यतना गर्ने, गेट बनाइदिने भन्ने प्रतिवद्धता पत्र दिएका छौं,’उनले भने,‘जनताको माग सही हो, यो मागलाई जारी नै राख्छौं ।’
वडा नं १९ का दक्षिणी भेगका जनताले वीपी प्रतिष्ठानको बन्द अवस्थाको पुरानो बाटो सञ्चालनमा ल्याउनुपर्ने माग गर्दे आएको छ । वडाबासीको मागलाई लिएर नेकपा माओवादी केन्द्रले पटक पटक प्रतिष्ठानमा ज्ञापन पत्र बुझाएको थियो । सुनुवाई नभएको भन्दै शनिबार गेट भत्काइदिएपछि प्रहरीले डोजर अपरेटर उदिम खड्का र मालिक प्रदिप क्षेत्रीलाई नियन्त्रणमा लिएको थियो ।
प्रतिष्ठान बन्नुअघि ब्रिटिश घोपा क्याम्प रहदा उक्त बाटो प्रयोग गरिन्थ्यो । प्रतिष्ठान बनेपछि दक्षिणतर्फ आवासिय क्षेत्र (क्वार्टर) निर्माण गरेको छ भने सुरक्षा चुनौतीको कारण देखाउदै उक्त बाटो बन्द गरेको छ । यो बाटो सञ्चालनमा आउदा बिशेष गरि वडा नं १९ का पुरै र ८ का पनि केही भागका जनतालाई राहत पुग्छ ।
 
                    _1704867435.jpeg) 
		 
                                         
                     
                     
		


 
		 
		 
		 
		



