धरान: करिब दुई दशक अवधि लगाएर निर्माण सम्पन्न भएर धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजना अन्तर्गत नयाँ बसपार्क सञ्चालनमा आउने तयारीमा छ । 

नयाँ बसपार्क सञ्चालनमा आउनु अगावै धरानको सवारी चाप थेग्न नसक्ने भनेर सरोकारवालाहरु भने चिन्तित छन् । नयाँ बसपार्क व्यवस्थापन गर्न वडा नं ८ का अध्यक्ष धनबहादुर राईको अध्यक्षतामा यातायात व्यवस्थापन समिति गठन भएको थियो । उक्त समितिले आइतबार मेयर हर्क साम्पाङलाई विभिन्न ७ बुँदे सुझावसहित आफ्नो प्रतिवेदन बुझाएको छ । 

समितिले बसपार्क प्रवेश गर्ने र निस्कने बाटो पिच नबने सञ्चालन गर्न नसकिने र स्थानीयको समेत अवरोध हुनसक्ने भएकोले तत्काल पिच गर्नुपर्ने सुझाव दिएको छ । बसपार्कमा हुने सवारीसाधनको चापलाई मध्यनजर गरी निर्माणाधिन बसपार्कको क्षेत्रफल कम रहेकोले टर्मिनल भवनको पुर्वतर्फ उपमहानगरको नाममा रहेको चार कट्ठा जग्गामा ज वर्गका सवारीसाधन पार्किङ व्यवस्थापन गर्न समितिले सुझाव दिएको छ । यस्तै, रेडियो नेपालको खाली जग्गामा समन्वय गरी ठुला बस पार्किङ गरी व्यवस्थापन गर्न अति आवश्यक रहेकोले उक्त व्यवस्था गर्नुपर्ने पनि समितिले सुझाव दिएको छ । 

new buspark1

यस्तै, टर्मिनल भवनको भुईतलाको बीच भागमा निर्माण भइरहेको काउन्टर अपर्याप्त रहेकोले उक्त काउन्टर विभाजन गरेर मिलाउनुपर्ने र बसपार्क भवनको खाली भागमा काउन्टर थप गरि व्यवस्थापन गर्न पनि सुझाव दिएको छ । साथै, सवारी साधनको वर्ग अनुसार एकीकृत काउन्टर व्यवस्थापन गर्नुपर्ने पनि सुझाव छ । 

समितिले अण्डरग्राउण्ड पार्किङस्थलमा तीनपांग्रे सवारीसाधन, विद्युतीय सवराी साधन, निजी सवारीसाधनको पार्किङ स्थान निर्माण चरणमा छुट्याइएको नपाइएकोले निर्माण चरणमा नै छुट्याउन सुझाव दिएको छ । साथै, विद्युतीय सवारीसाधनहरुको लागि पार्किङस्थलमा कम्तीमा २ वटा चार्जिङ पोइन्ट निर्माण गर्न पनि समितिको सुझाव छ ।

new buspark2

यसैगरि, समितिले माइक्रो तथा विद्युतीय सवारीसाधनहरुको स्टेण्ड अपर्याप्त भएकोले थप दुई वटा स्टेण्ड व्यवस्था गर्न र जिप ज वर्गको स्टेण्ड कम भएकोले स्टेण्ड थप गर्न पनि सुझाव दिएको छ । यस्तै, नयाँ बसपार्कमा आवतजावत गर्ने यात्रुहरुको सहजताको लागि स्थानीय सरकारले नगरबस सञ्चालनको व्यवस्था गर्नुपर्ने पनि समितिले सुझाव दिएको छ । 

वडाअध्यक्ष राई संयोजक रहेको उक्त समितिमा जिल्ला ट्राफिक प्रमुख सवास केसी, यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश कमिटी अध्यक्ष सरोज श्रेष्ठ, बस व्यवसायी नेत्र थापा, हरि थापा, ट्याक्सी व्यवसायी सुरज श्रेष्ठ, दोर्जे शेर्पा, उपमहानगरपालिकाका अधिकृत वेदप्रसाद सापकोटा सदस्य थिए ।

भिडियो: