धरान: नेकपा एमालेका नेता राजेन्द्र गौतमले नयाँ नयाँ भन्ने राजनीतिक दलहरुको नीति, विचार, सिद्धान्त, बाटो र गन्तव्य के हो भनेर त्यहाँका नेताहरु नै अनभिज्ञ रहेको बताएका छन् । 

एमाले सुनसरी क्षेत्र नं १ को शनिबार धरानमा आयोजित वृहत जनसभालाई सम्बोधन गर्दै नेता गौतमले यस्तो बताएका हुन् । यस्तो नीति, विचार र सिद्धान्तविहिन नयाँ भन्ने राजनीतिक दलहरुलाई जनताले नै तिरस्कार गर्नुपर्ने पनि नेता गौतमको भनाई थियो । ‘नयाँ नयाँ भनेका छन्, तर नीति, सिद्धान्त, विचार, बाटो र गन्तव्य के हो, कहाँ हिडेको भनेर उनीहरुनै प्रष्ट छैनन्,’ उनले भने,‘देश बनाउन योगदानै नगरेकाहरु अब पुरानोलाई भोट होइन भन्दै हिडिरहेका छन् ।’

नेता गौतमले नयाँ जन्मेको बच्चाले कसरी गाडी चलाउन सक्छ ? भन्ने प्रश्न गर्दै स्पष्ट भिजन नभएकाहरु देश बनाउने भन्दै जनतालाई झुक्याएर मत मागिरहेको बताए । उनले आसन्न निर्वाचन देश भत्काउने, जलाउने र देश बचाउने, बनाउनेबीचको जनमत संग्रह भएको पनि दाबी गरे । ‘देशलाई जलाउने, भत्काउने र देश बनाउने, जोगाउनेबीचको यो जनमत संग्रह पनि हो,’ उनले भने,‘देश अहिले संकटमा छ, त्यसैले देशको सर्वभौमिकता, राष्ट्रिय एकता, स्वाधिनता जोगाउन, संविधानलाई सही ट्रयाकमा ल्याउन पनि एमालेलाई जिताउनुपर्छ।’

uml

नेता गौतमले पार्टीले सुनसरी १ बाट इमान्दार तथा होनहार युवा उम्मेद्वार टिकाराम लिम्बूलाई उठाएको र वामपन्थी विरासत कायम राख्ने विश्वास पनि व्यक्त गरे । यही क्षेत्रबाट मनमोहन अधिकारी जितेर प्रथम कम्युनिष्ट प्रधानमन्त्री भएको, लिला श्रेष्ठ सुब्बा पहिलो महिला उपसभामुख भएको, कवियित्री कुन्ता शर्मा, कृष्णकुमार राई, जयकुमार राईलाई पनि जिताएको स्मरण गर्दै गौतमले युवाहरुको प्रतिनिधित्व गर्ने उम्मेद्वार टिकाराम लिम्बूलाई पनि जिताउने बताए । 

‘यो निर्वाचन क्षेत्रको गौरवपुर्ण इतिहासको कारणले पनि हामीले यो क्षेत्रलाई महत्व दिएका छौं,’ उनले भने,‘राजनीतिशास्त्र, कानुन अध्ययन गरेका, युवा आन्दोलनमा योगदान दिएका उम्मेद्वारलाई जिताउन अपिल गर्छु ।’ नेता गौतमले हर्क साम्पाङको नाम नलिई एक सिट पनि जित्ने निश्चित नभएको व्यक्ति प्रधानमन्त्री बन्ने भनेर हिडिरहेको भन्दै कटाक्ष पनि गरे । देशलाई सही दिशामा लैजानसक्ने एजेण्डा बोकेको दल एमाले भएकोले उक्त दलको बहुमत हुने गरि नेपाली जनताले जिताउनुपर्ने पनि उनले बताए । 

uml8

देशको मुख्य चुनौती असमानता, गरिबी, बेरोजगारी र बञ्चितिकरण, निषेधको राजनीति रहेको उल्लेख गर्दे गौतमले यसबाट मुक्त गर्न पनि एमाले नेतृत्व चाहिने बताए । ‘एमाले एकतावद्ध भएर एक स्वर, एक गतिको साथ सिंगो पंक्ति हिड्नुपर्छ,’ उनले भने,‘एमाले राष्ट्रिय राजनीतिमा उदय भएन भने मुलुक संकटमा पर्छ ।’

नेता गौतमले संविधान ट्रयाकमा ल्याएर समायानुकुल संशोधन गर्न, संसदीय लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्न, देशको राष्ट्रियता रक्षा गर्न,  राष्ट्रिय एकता र सद्भाव वलियो बनाउन र आफ्नै मौलिकतामा आधारित जनताको बहुदलिय जनवादको आलोकमा समृद्ध नेपाल, सुखी नेपाली विकासको मोडल अघि बढाउन पनि संसदमा एमालेको बहुमत आवश्यक पर्ने बताएका थिए । 

एमालेको पहलमा बनेको बाटोमा उभिएर एमालेले के गर्यो भन्छन्: पुर्वसांसद राई

uml6

नेकपा एमालेका नेता एवं पुर्वसांसद जयकुमार राईले सुनसरी १ मा विकासका पुर्वाधारहरु एमाले जनप्रतिनिधिहरुकै पहल र नेतृत्वमा बनेपनि एमालेले केही गरेन भनेर गलत प्रचारबाजी भइरहेको भन्दै असन्तुष्टी जनाए । 

नेता राईले एमाले जनप्रतिनिधिहरुकै पालामा धरान रंगशालाअघिको सडक, घण्टाघर, सभागृह, कृषि बजार, सप्तरंगी पार्क, नयाँ स्मार्ट बसपार्क, धरान हर्दिया सडकको ट्रयाक खोल्नेलगायत विकासका पुर्वाधारहरु बनेको पनि बताए । तर, एमालेकै पहलमा बनेको बाटोमा उभिएर एमालेले केही गरेन भन्ने गरेको पनि उनले बताए । 

‘३४ बर्षसम्म एमालेबाट निवार्चितहरुले के गर्यो भन्नुहुन्छ, यी सबै कुराहरु कस्को नेतृत्वमा भएको हो ?’ उनले भने,‘सुकुम्बासीहरुलाई घरनम्बर पनि एमाले जनप्रतिनिधिकै पालामा भयो, पानी विजुलीको काम पनि भयो, तर अहिले केही गरेन भन्नुहुन्छ ।’ 

uml5

पुरानो पार्टीहरुले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापनाको लागि दिएको योगदान नदिएको भए अहिले नयाँ भन्नेहरुले पार्टी खोलेर उम्मेद्वार पनि बन्न नपाउने उनको भनाई थियो ।

एमाले केन्द्रीय सदस्य एवं पुर्वउपप्रमुख मञ्जु भण्डारी सुवेदीले पनि नयाँ भन्नेहरुले नगरको नेतृत्व गर्दा केही काम गर्न नसकेको आरोप लगाइन् । हर्क साम्पाङले साढे ३ बर्ष धरानको नेतृत्व गर्दा मेघा प्रोजेक्टहरु कुनै अघि नबढेको, बालेनले महानगरलाई कार्यसम्पादन मुल्यांकनमा पुछारमा पुर्याएको भन्दै आलोचना गरिन् । सभामा प्रदेश सांसद विजयकुमार राई, कोशी प्रदेशका पुर्वसभामुख प्रदिप भण्डारी, सुनसरी १ का उम्मेद्वार टिकाराम लिम्बु, समानुपातिक उम्मेद्वार मौषम राईले पनि मन्तव्य व्यक्त गरेका थिए ।


भिडियो


भिडियो

भिडियो

भिडियो: