धरान: धरान उपमहानगरपालिकाले करिब १० हजार संख्यामा विपन्न परिवार तथा श्रमिक, मजदुरहरुलाई राहत विरतण गरेपनि अझै छुटेको गुनासो आएपछि राहतको अनुगमन गर्न टोली खटाएको छ ।

वडा कार्यालयहरुमा भएको राहत वितरणको अवस्था अनुगमन गर्न ५ जनाको टोली खटाएको हो । धरानका पुर्वमेयर मनोज कुमार मेन्याङ्बोको नेतृत्वमा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटा, रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापा, नगर प्रमुखका स्वकिय सचिव र उपमहानगरको अनुगमन अधिकृत टोलीमा छन् । यो टोलीले वडामा गएर स्थलगत अध्ययन गरेर सुझाव सहित रिपोर्ट ल्याउने मेयर तिलक राईले बताए । ‘वडागत स्थलगत रिपोर्ट ल्याउछ, अब राहत थप्नुपर्ने हो कि होइन, वडाले ल्याएको खाद्यान्न कसरी बाड्यो भन्ने सबै कुराको सुझाव लिएर आउछ,’मेयर तिलक राईले भने ।

लकडाउनको अवस्था अझै बढाउनुपर्छ भन्ने सुझाव आइरहेकोले भैपरी आउनेसम्मको लागि जगेडा गर्नुपर्ने हो कि भनेर छलफल भइरहेको मेयर राईले बताए । लकडाउनको स्थिति बढ्यो र नगरबासीले राहतको आह्वान गर्दा राहत आपूर्ति गर्नुपर्ने स्थानीय सरकारको जिम्मेवारी भएको पनि उनले बताए । ‘राहत वितरणको लागि आर्थिक समस्या भइरहेको छ, खाद्यान्न आवश्यक मात्रामा पाइरहेका छैनौं । किन्न खोज्दा पनि पाइरहेका छैनौं । हजार किलो चामल, दाल, तेल चाहिएको छ,’उनले भने,‘मुख्यमन्त्री ज्युलाई खाद्यान्न उद्योगहरु समन्वय गरेर चलाउनुपर्छ भनेर आग्रह गरेका छौं ।’

उनले सिमा क्षेत्रबाट आउने खाद्यान्न, ढुवानीका सवारीहरुलाई सिमा क्षेत्रमै सेनिटाइज गर्न पनि आग्रह गरिएको बताए ।  मेयर राईले पहिलो साता संक्रमण रोकथाम र उपचारको व्यवस्थापनमा समय खर्चिएको बताए । दोस्रो चरणमा राहत वितरणमा केन्द्रीत हुनुपरेको पनि उनले बताए ।