धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सय बेड आइसोलेसनसहितको कोभिड १९ उपचार केन्द्र सञ्चालनमा आउने भएको छ ।

प्रतिष्ठानमा रहेको पुर्नस्थापना केन्द्रलाई कोभिड १९ उपचार केन्द्रमा परिणत गरिन लागेको हो । सय बेड आइसोलेन हुने यो उपचार केन्द्रमा १० बेडभन्दा बढी आइसियु पनि रहने प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले जानकारी दिए । उनका अनुसार बैशाख १२ गते भित्र कोभिड १९ उपचार केन्द्र तयार भइसक्नेछ । पुर्नस्थापना केन्द्रमा अहिले फिजियोथेरापीका सामग्रीहरु छन् । ‘अहिले त्यो ठाउँ खाली गराउने काम भइरहेको छ, डिजाइन पनि तयार छ,’उपकुलपति डा.गिरीले भने,‘टेण्डर पनि भइसक्यो, बैशाख १२ गतेभित्र तयार हुन्छ ।’

अहिले वीपी प्रतिष्ठानले कोभिड १९ का शंकास्पद विरामीहरुलाई कोरोना हेल्प डेस्कमा स्क्रिनिङ गरिरहेको छ भने पेइङ वार्डलाई आइसोलेसन वार्डमा परिणत गरेर उपचार गरिरहेको छ । यस्तै, फिवर क्लिनिक पनि सञ्चालनमा छ । वीपी प्रतिष्ठानको माइक्रोबायोलोजी विभागले पिसिआर विधिबाट थ्रोट स्वाबको परीक्षण पनि गरिरहेको छ । प्रतिष्ठानको आकस्मिक कक्ष, बच्चाको आकस्मिक कक्ष र गाइनोबाट उपचार सेवा प्रवाह भइरहेको छ भने ओपिडी सेवा रोकिएको छ ।

यसैगरि, बैशाख १३ गतेभित्र अनलाइनबाट नै प्रतिष्ठानको विभिन्न सेवा प्रवाह गर्न मोवाइल एप्स पनि तयार भइरहेको पनि प्रतिष्ठानले जनाएको छ । यो मोवाइल एप्स तयार भएपछि प्रतिष्ठानमा पुर्जी काट्न, विल पेमेन्ट गर्न मात्र होइन, रिपोर्ट पनि अनलाइनबाट नै लिन सकिने प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साहले जानकारी दिए । ‘एप्स तयार भएपछि विरामीको पुर्जी काट्न, विल पेमेन्ट गर्न र ल्याब रिपोर्ट लिन लाइनमा उभिरहनु पर्दैन,’अस्पताल निर्देशक डा.साहले भने,‘सबै अनलाइनबाट नै गर्न सकिन्छ । ल्याब रिपोर्ट पनि अनलाइनमै हेर्न सकिन्छ ।’अनलाइन सेवा सञ्चालनमा आएपछि पुर्जी काट्न, विल तिर्न र ल्याब रिपोर्ट लिन घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता हट्नेछ ।