विराटनगर: उदयपुरको चौदण्डीगढी नगरपालिकाको शिवाहीबाट ७८ जनाको स्वाव संकलन गरेर विराटनगर ल्याईएको छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे नेतृत्वमा आज विहान उदयपुर गएको स्वास्थ्यकर्मीसहितको टोलीले स्वाव संकलन गरि कोशी अस्पताल विराटनगर ल्याएको हो । उदयपुरको त्रियुगा नगरपालिका ३ को भुल्केको नुरी मस्जिदमा वसेका जमातीमा यसअघि कोरोना संक्रमण देखिएको थियो । उनीहरु अहिले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत रहेका छन् ।

कोरोना संक्रमण देखिएका जमाती शिवाहीको मस्जिदमा पनि गएको पाईएको थियो । उनीहरुले शिवाहीमा पनि उठवस गरेको रेकर्ड देखिएकाले शंकास्पद व्यक्तिको सूची संकलन गरि स्वाव विराटनगर ल्याइएको हो । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले तयार पारेको ‘ट्रयाकिङ र ट्रसिङ’ निर्देशिका अनुसार शंकास्पद व्यक्तिको सूची तयार गरि स्वाव परिक्षणका लागि विराटनगर ल्याइएको सामाजिक विकास मन्त्री घिमिरेले बताए । प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादव नेतृत्वको टोलीले स्वाव संकलन गरेको थियो । शिवाहीमा मन्त्री घिमिरेले स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतसँग छलफल पनि गरेका थिए । मन्त्री घिमिरेले त्रियुगाको अवस्थाबारे प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मीसँग जानकारी लिएका थिए । साजथै, २८ जना कोरोना संक्रमित देखिएको त्रियुगा क्षेत्रमा पुगेर उनले पछिल्लो अवस्थाबारे जानकारी पनि लिए ।

छलफलमा जनप्रतिनिधिहरुले उदयपुरमा कोरोना संक्रमितको उपचारको प्रवन्ध गरिनुपर्ने, कोरोना परीक्षण उदयपुरमै गर्नुपर्ने र प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गर्नुपर्ने बताएका थिए । संक्रमितलाई विराटनगरसम्म लैजानुभन्दा उदयपुरमै उपचारको प्रवन्ध गरिनुपर्ने बताएका थिए । संक्रमितको संख्या अहिलेको अनुपातमा बढ्दै गएको खण्डमा उदयपुरमा पनि सामान्य अवस्थाका विरामीलाई उपचार गर्ने गरि व्यवस्था गर्न सकिने मन्त्री घिमिरेले बताए । उनले भने,‘अहिलेको अनुपातमा संक्रमित बढ्दै गएमा तत्काल सम्पूर्ण पूर्वाधार निर्माण गर्न नसकिने भएकाले सामान्य खाले विरामीको उदयपुरमा उपचार गर्ने गरि तयारी गरिने छ ।’

प्रदेश सरकारले विराटनगर १० मा कोरोना संक्रमितका लागि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र निर्माण गरेको छ । उपचार केन्द्रमा अहिले २८ जना संक्रमित उपचाररत छन् । सो अस्पताल ५० वेड क्षमताको रहेको छ । प्रदेश सरकारले सुनसरी धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि संक्रमितको उपचारको व्यवस्था गरेको छ । विपीमा ३ सय वेडको तयारी भईरहेको सामाजिक विकास मन्त्री घिमिरेले बताए । उनले भन्ने,‘ ५÷६ दिनमा तयार भईसक्छ ।’