धरान: भोजपुरको हतुवागढी गाउँपालिकाका कोरोना संक्रमित व्यक्तिको धरान १३ स्थित मावली घर पत्ता लागेको छ ।

उनको मावली घरमा रहेका व्यक्तिहरुमध्ये २ जनाको अहिले र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटि) विधिबाट कोरोना परीक्षण हुन लागेको वडा नं १३ का अध्यक्ष नेत्रबहादुर काफ्लेले जानकारी दिए । उनका अनुसार परिवारमा ४ जना सदस्य भएको प्रारम्भिक जानकारी आएको छ । टेष्ट किट अभावले गर्दा अहिले २ जनाको मात्र परीक्षण हुन लागेको अध्यक्ष काफ्लेले बताए । ‘अहिले २ वटा किट प्राप्त भयो, हामी चेक गर्न जादैछौं,’उनले भने,‘उहाँहरुको टेष्ट गरेपछि थप के गर्ने भन्ने निर्णय हुन्छ ।’ एक जना करिब ८५ बर्षीय वृद्धसहित २ जनाको पहिला टेष्ट गरिने उनले बताए ।

भोजपुरका कोरोना संक्रमित युवा लकडाउन अघि धरानमा पनि आएको खुलेको थियो । उनी साउदीबाट फागुन ३० गते काठमाण्डौं अवतरण गरेर नाइट बसमा झुम्का आएका थिए । त्यहाँबाट चतरामा श्रीमति भेटेर धरान, इटहरीलगायत सहरहरु घुमेका थिए । उनी उदयपुरको मैनामैनीस्थित ससुराली हुदै हतुवागढी ६ होम्ताङ पुगेका थिए । उनी नेपाल आएको ४१ औं दिनमा आरडिटी जाँच गर्दा पोजेटिभ देखिएपछि स्वाब लिएर वीपी प्रतिष्ठानमा जाँच गर्दा पिसिआर रिपोर्ट पनि पोजेटिभ आएको थियो ।