धरान: लकडाउनले जनजीवन ठप्प भएको ४० औं दिन भइसक्यो । मानिसहरु घरमै सिमित छन् भने विकास, निर्माण, यातायात सबै काम ठप्प छ ।

धरानमा भने लकडाउनकै बीचमा पनि विकास निर्माणको काम शुरु भएको छ । लकडाउन कहिलेसम्म भन्ने निश्चित हुन नसकेपछि धरानमा लामो समयदेखि रोकिएको महत्वपुर्ण विकास निर्माणको कामहरु शुरु भएको छ । अहिले धरान ११ र २० नम्बरको सिमाना पर्ने सर्दु खोलामा धमाधम पुल निर्माणको काम भइरहेको छ । साविक विष्णुपादुका(हाल २० नम्बर वडा)लाई साविक धरानसँग जोड्ने यो महत्वपुर्ण पुल हो । यो पुल निर्माण भएपछि भञ्ज्याङ, गोर्खा पार्क, विष्णुपादुका, धनकुटाको आहालेलगायत क्षेत्र पुग्न धेरै सहज हुनेछ ।

sardu-pool1

वडा नं २० का अध्यक्ष एवं धरान उपमहानगर कार्यपालिकाका प्रवक्ता मणिराम राईले लकडाउनको कारण काम प्रभावित भएपछि सांसद, उपमहानगरपालिका र सिडिओसँग समन्वय गरेर काम अघि बढाइएको जानकारी दिए । स्थानीय मजदुरहरु लगाएर लकडाउनको पालना गर्दै, दुरी कायम गरेर काम अघि बढाउने सहमति भएको अध्यक्ष राईले बताए ।

ठेकेदार कम्पनी कार्की बन्धु कन्ट्रक्सन प्रालि विराटनगरको सुपरभाइजर अब्दुल कविरका अनुसार लकडाउनको कारण एक महिना काम रोकिएर ढिलाई भएको बताए । असार अन्तिमसम्म पुलको काम सम्पन्न गर्ने उनले बताए । ‘लकडाउन नभएको भए नभए चाडै काम सकिन्थ्यो । हामी यही बस्यौं, घर जान पनि पाएनौं । स्थानीयसँग मिलेर काम गर्दैछौं,’उनले भने ।

sardu

धरानका मेयर तिलक राईले भौतिक निर्माणको काम अघि बढाउन समन्वय गरिएको बताए । विष्णुपादुका जाने पुलको काम थोरै मात्र बाँकी भएकोले अहिले अघि बढाइएको साथै कोशी राजमार्गमा पर्ने भोटेपुलमा ड्रेनको काम र वीपी प्रतिष्ठान जाने धनकुटे रोडको खाल्डाखुल्डी पुर्ने काम पनि थोरै मजदुर र सुरक्षा अपनाएर शुरु गरिएको उनले बताए ।

dhankute-road drain