म दिल्लीबाट आएको हुँ । हामी १६ जनाको समुह थियौं । सबै हामी एउटै गाउँका थियौं । दिल्लीबाट लुकीछिपी हिडेर दिल्लीको बोर्डर क्रस गर्यौ, र एउटा ट्रकमा आयौं । केचनाकवल बोर्डरमा आएपछि चै नेपाल आउनै पाइएन । सशस्त्र प्रहरीले रोक्यो । आफ्नो देश र घर नजिकै आइपुग्दा आउन नपाउदा दुःख लाग्यो । अर्डर छैन भनेर रोक्यो । हामीलाई आफ्नो देश आउन कस्को अर्डर चाहिने ? धेरै रिस उठ्यो ।

हामीलाई थाह छ, कोरोनाले समस्या छ । हामी पनि आफ्नो परिवार, देशलाई समस्यामा पार्न चाहदैनौं । तर, आफ्नो देशको सीमानामा आइपुगेर दिनभरि, रातभारी भोकै बस्नुपर्ने ? हामी बच्यौं भने न देश बच्छ । हामी पनि बाँच्ने हो, देशलाई पनि बचाउने हो । बरु हामीलाई मदरसामा, स्कुलमा वा घरमै क्वारेन्टाइनमा बस्ने व्यवस्था गरे हुन्थ्यो । त्यसरी आफ्नो देशका जनतालाई बोर्डर अलपत्र बनाउन नहुने ।

दिल्लीबाट आएको १६ जना मध्ये मसहित यहाँ(वीपी प्रतिष्ठान) ८ जना छौं । मलाई कोरोना पोजेटिभ देखियो । केचनाकवलबाटै २३ जना रहेछौं । यहाँ ल्याएको शुरुको २ दिन ज्यादै दुःख भयो । एम्बुलेन्सले ल्याउदा पनि कहाँ लैजाने भन्ने थाह पाएनछ । बल्ल बेडमा आयौं । सोधी खोजी गर्न कोही आएनन् । राती एकै पटक साढे ११ बजे खाना र डाक्टर आइपुगे । मलाई ग्याष्टिकले सतायो । पेट असाध्यै दुख्यो, बोल्नै सकिन । औषधी थियो मसँग । त्यही खाए ।

भोलीपल्ट पनि त्यस्तै भयो । बिहान कोही आएनन् । निक्कै ढिलो गरि दाल, भात आयो । अलि अलि मात्र खाए । कतिले त खाएनन् । यसरी त यहाँ कसरी बस्नु ? ज्यान बचाउन ईण्डियाबाट आएको, यसरी त मरिन्छ जस्तो भयो । अनि झापाको कांग्रेस नेतासँग कुरा गरे । हामी भिम सर भन्छौं । उहाँलाई सबै कुरा गरे । उहाँले नडराउनुस् म कुरा गर्छु भन्ने भयो । यहाँ मेरो भाञ्जा पनि छन् । उसँग चाउचाउ रहेछ, त्यही खायौं ।

भिम सरसँग कुरा भएपछि राती ७, ८ बजेतिरै खाना आयो । खाना राम्रो आयो । केटाहरु सबै खुशी भए । यस्तो खाना पाउदा त २,४ महिना यहाँ बस्दा पनि केही फरक पदैन । भात, दाल, अचार, मिक्स भुजिया र सलाद पनि आउछ । शुरुको २ दिन बाहेक अहिले राम्रो नै छ, हामीलाई खुशी नै लागेको छ । भोली इद छ । हामीलाई खिर चाहिन्छ । कुखुराको वा खसीको मासु पाए पनि राम्रो हुन्थ्यो । तर हस्पिटलमा त्यस्तो नपाउला ।

यहाँको डाइरेक्टर सरसँग कुरा भयो । हामीलाई सहयोग चाहिन्छ भने । इद छ, सरसफाई होस् । वाईफाई पनि जोडिदिनुस् भन्यौं । नेटबाट घरमा कुरा गथ्यौं, हेथ्यौं । घरमा खुशी हुन्थे, हामीलाई पनि खुशी मिल्थ्यो । इदमा ६ बजेसम्म खिर भए हुन्थ्यो, अनि ७ , ८ बजे नमाज पढ्छौं । डाइरेक्टर सरले गर्दिन्छु, चिन्ता नलिनुस् भन्नु भएको छ । म त जहिल्यै नमाज पढिरहेको हुन्छु । अहिले सबै राम्रै नै छ ।
(झापाको केचनाकवलका मियाँसँग मोवाइलमा गरेको कुराकानी उनकै अनुमतिमा प्रकाशित गरिएको हो । सम्पादक)