धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा प्रमुखले एक डाक्टरलाई गालीगलौज तथा अभद्र व्यवहार गरेको घटनाबारे छानबिन समिति गठन भएको छ ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले एक विज्ञप्तीमार्फत आर्थिक प्रशासन महाशाखा प्रमुख कमल रायमाझीले डा.विप्लव कार्कीको आवासमा गएर अभद्र व्यवहार गरेको घटनाबारे छानबिन समिति गठन गरेको जानकारी दिएका हुन् । घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने गरि समिति गठन भएको उपकुलपति डा.गिरीले जनाएका छन् । प्रतिष्ठानका गाइनो विभागीय प्रमुख डा.पप्पु रिजालको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन भएको छ । 

उपकुलपति गिरीले भविष्यमा त्यस्तो घटना दोहोरिन नदिन दोषीलाई लिखित स्पष्टीकरण माग गर्ने र निर्धारित समयमा उचित स्पष्टीकरण नआएमा नियमावली वमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता पनि जनाएका छन् । छानबिन समितिको प्रतिवेदन अनुसार गर्ने पनि उनको भनाई छ । 

bp sahamati1

लेखा प्रमुख रायमाझीले अभद्र व्यवहार गरेको भन्दै डा.कार्कीले प्रहरीमा जाहेरी दिएका थिए । उनको जाहेरी दर्ता भइसकेको छ । जुनियर रेजिडेन्टहरुले कोभिड अस्पताल र इर्मजेन्सी सेवाबाहेक सम्पुर्ण सेवाहरु बहिष्कार गरेका थिए । उपचार सेवा प्रभावित हुन थालेपछि पदाधिकारीहरुले वार्ता शुरु गरेका थिए ।

हिजो बुधबार र आज बिहिबार दिनभरि जुनियर रेसिडेन्ट र कर्मचारी प्रतिनिधिहरुबीच पदाधिकारीहरुसँग वार्ता भएको थियो । उक्त वार्तामा रायमाझीलाई तत्काल स्पष्टीकरण सोध्ने, प्रतिवेदन अनुसार कारबाही गर्ने, भविष्यमा त्यस्तो घटना नदोहोर्याउनेबारे लिखित प्रतिवद्धता व्यक्त गर्नेलगायत सहमति भएको थियो । साथै, जाहेरी दर्ता भइसकेको हुनाले कानुनी कारबाहीबारे सहजीकरण गर्ने पनि सहमति भएको थियो । 

*शिर्षक परिवर्तन गरिएको ।