धरान: धरानमा खोप अभियानको क्रममा छुटेका १२ देखि १७ बर्ष उमेर समुहका बालबालिकाहरुलाई भोली (शुक्रबार) पनि खोप लगाइने उपमहानगरपालिकाले जनाएको छ ।

स्वास्थ्य महाशाखाका अनुसार छुटेका बालबालिकाहरुलाई शुक्रबार धरान १२ स्थित पब्लिक माविमा खोप लगाइनेछ । धरानमा माघ १६ गतेदेखि १९ गतेसम्म ४ दिन विभिन्न विद्यालयका विद्यार्थीहरुलाई कोभिड १९ विरुद्धको मोर्डना खोप लगाइएको थियो । ती ४ दिनमा खोप लगाउन छुटेकाहरुलाई बिहिबार (२० गते) सुनभागा स्कुल पब्लिक हाईस्कुलमा खोप लगाइएको थियो । 

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार बिहिबारसम्म धरानमा कुल १५ हजार ९०९ जना १२ देखि १७ बर्ष उमेर समुहका बालबालिकाहरुले खोप लगाएका छन् । तीमध्ये छात्र(पुरुष)को संख्या ७ हजार ९९२ र छात्रा (महिला)को संख्या ७ हजार ९०७ जना रहेको छ । पहिलो दिन ४ हजार ३९७ जनाले खोप लगाएका थिए भने दोस्रो दिन ३ हजार ७५४, तेस्रो दिन ३ हजार २१५ र चौथो दिन ४ हजार ११५ जनाले विभिन्न ४४ वटा खोप केन्द्रमा खोप लगाएका थिए ।

चार दिनमा खोप छुटेकाहरुलाई बुधबार पुनः सुनभागा र पब्लिक हाईस्कुलमा खोप लगाउने व्यवस्था गरिएको थियो । बुधबार छुटेका ४२८ जनाले खोप लगाएको स्वास्थ्य महाशाखा प्रमुख मेहताले जानकारी दिए । उनका अनुसार बुधबार २५१ जना पुरुष र १७७ जना महिलाले खोप लगाएका छन् । 

बुष्टर डोजको लगाउने तयारी

स्वास्थ्य महाशाखा प्रमुख मेहताका अनुसार छुटेका बालबालिकाहरुलाई शुक्रबार खोप लगाएपछि धरानमा बुष्टर डोज लगाउने तयारी हुनेछ । उनले केही दिनभित्रै धरानमा बुष्टर डोज लगाउन शुरु गरिने पनि बताए । 

मेहताका अनुसार बुस्टर डोज ६० बर्ष उमेर माथिका ज्येष्ठ नागरिकहरुलाई प्राथमिकता दिइनेछ भने सञ्चारकर्मी, सार्वजनिक सेवा प्रवाह गर्ने, स्वास्थ्यकर्मीलगायतहरुलाई दिइनेछ । यस्तै, दोस्रो मात्रा लगाएको ६ महिना पुगेकाहरुलाइ दिइने पनि उनले बताए । ‘अब बुष्टर डोज नियमितरुपमा नै आइरहन्छ,’उनले भने ।