धरान: उमेरले ७० बर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई सहजरुपमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आयोजना भइरहेको सामाजिक स्वास्थ्य क्लिनिकमा धरानबाहिर इटहरी, विराटनगरबाट पनि विरामीहरु आउन थालेका छन् ।

परिवर्तनका लागि सामाजिक अभियानले शुरु गरेको क्लिनिक पाक्षिकरुपमा शनिबार आयोजना हुदै आएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुटु रोग बिशेषज्ञ डा.प्रशान्त साहसँगको सहकार्यमा शुरु गरिएको क्लिनिक शनिबार नवौं सँस्करण सम्पन्न भएको छ । धरान मोडल कलेजको प्राङ्गणमा सम्पन्न पाक्षिक स्वास्थ्य क्लिनिकमा फलोअप र नयाँ गरी १६ जनाले विरामीले स्वास्थ्य जाँच गरेका थिए । 

डा. साहले क्लिनिकमा सहभागी बिरामीहरूको स्वास्थ्य जाँच गदै खानपानमा ध्यान दिन आग्राह गरे । उनका अनुसार खानपानमा लापरवाही गर्दा नै धेरै रोगहरुले मानिसलाई गाँजेको हो । उनले भने, ‘सबैभन्दा बढी खानपानलाई ध्यान दिनुहोला । खानपानका कारणले नै रोगहरूले आक्रमण गर्ने हुँदा यसतर्फ ध्यान दिनुस् ।’ 

prashant

अभियानका संयोजक विष्णु वरालले क्लिनिकमा नयाँ बिरामीहरू पनि आउने गरेको बताए । फलोअप र नयाँ बिरामीहरूको स्वास्थ्य जाँच गरिसके पछि डा.साहले परामर्श पनि गरेको वरालले जानकारी दिए । ‘स्वास्थ्य परामर्शले बिरामीलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न सहयोग गर्नेछ,’उनले भने । विशेष गरी बीपी प्रतिष्ठानमा ज्येष्ठ नागरिकहरूलाई लाइनमा लागेर जाँच गर्न गाह्रो हुने भएकाले यो अभियान शुरु गरिएको उनले बताए । 

सदस्य बर्षा अग्रवालले धरानबाहेक विराटनगर, इटहरीलगायतबाट पनि क्लिनिकमा आउने गरेको जानकारी दिदै अब अब भने धरानका वडा वडामा पनि क्लिनिक सञ्चालन गर्ने योजना रहेको बताइन् । यसअन्तर्गत वडा वडाका ज्येष्ठ नागरिकलाई सेवा दिइने उनले बताइन् । 

क्लिनिकमा २० जनासम्म नयाँ बिरामीलाई जाँच गरिँदै आएको छ । त्यसबाहेक फलोअपमा रहेका अन्य बिरामीहरूलाई पनि जाँच गरिँदै आएको छ । ‘नयाँ २० जनालाई पहिलो प्राथमिकता दिन्छौं, त्यसपछि फलोअपमा आउनेहरुको पनि जाँच हुन्छ,’ सदस्य त्रिभुवन बरालले भने ।