धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपकुलपतिको हैसियतमा काम गर्न आएका स्वास्थ्य मन्त्रालयका प्रमुख बिशेषज्ञ डा.श्यामसुन्दर यादव आज (बुधबार) प्रतिष्ठान आएलगत्तै फर्किएका छन् । 

उनी दिउँसो करिब १ बजेतिर प्रतिष्ठानको गेष्ट हाउसमा आएका थिए । उनीसँगै मन्त्रालयका प्रशासनका एक जना कर्मचारी पनि आएका थिए । उनी प्रतिष्ठान आएको केही समय नबित्दै सर्वोच्च अदालतले सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउदै वहालवाला पदाधिकारीहरुलाई नै काम गर्न दिनु भन्ने आदेश दिएको खबर सार्वजनिक भयो । अदालतको आदेशको पाठ आइनसके पनि निवेदक पदाधिकारीहरुको पक्षमा आदेश भएको बताइएको छ । 

अदालतको आदेश आएको जानकारी पाएलगत्तै आफुसँगै आएका कर्मचारीसहित डा.यादव गेष्ट हाउसबाट बाहिरिएको प्रतिष्ठान स्रोतले जनाएको छ । उनी काठमाण्डौं नै फर्किएको पनि स्रोतले जनायो । ‘उहाँ एक डेढ घण्टा जति गेष्ट हाउसमा बस्नु भयो, अदालतको आदेश आएको सुन्नेबित्तिकै फर्किनुभयो,’ स्रोतले भन्यो । डा.यादवले मोवाइल सम्पर्कमा आफु प्रतिष्ठान आए नभएको बताउन चाहेनन् । तथापी उनले स्टे अर्डर भएको कारण बस्नु प्रतिष्ठानमा बस्नु उचित नभएको प्रतिक्रिया दिए । उनले भने,‘मैले पहिला पनि भनेको थिए, स्टे अर्डर भयो भने बस्दिन । म बस्नु उचित हुदैन, र म अहिले त्यहाँ छैन पनि । प्रतिष्ठनलाई राम्रो होस्, यही कामना गर्छु ।’

मन्त्रिपरिषदको निर्णय अनुसार प्रतिष्ठान आएका डा.यादवलाई काम गर्न ऐन र नियमावलीले रोकेपछि उनी मन्त्रालय फर्किएका थिए । त्यसपछि स्वास्थ्य मन्त्री विरोध खतिवडाले डा. यादवलाई उपकुलपतिको हैसियतमा काम गर्न जिम्मेवारी दिने विवादस्पद निर्णय माघ २६ गते गरे । यो निर्णय गरेको २ दिनपछि वहालवाला उपकुलपति डा.ज्ञानेन्द्र गिरीले थप अर्को रिट निवेदन दिएका थिए । त्यसअघि नै डा.गिरीले सरकारले काम गर्न रोक लगाउन गरेको निर्णयविरुद्ध रिट हालेका थिए ।