धरानः सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले धरानको मेयर र उपमेयरका उम्मेद्वार आजसम्म पनि टुंगो लगाउन सकेको छैन।

बैशाख ३० गतेको स्थानीय तह निर्वाचनको लागि आज उम्मेद्वारी मनोनयनको अन्तिम दिन हो । धरानमा कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच मेयर र उपमेयरमा चुनावी गठबन्धन छ भने जनता समाजवादी पार्टी गठबन्धनबाट बाहिरिएर मेयर, उपमेयरसहित वडाहरुमा आफ्नै उम्मेद्वार उठाउने निर्णय गरिसकेको छ । कांग्रेस र माओवादी केन्द्रले पनि वडा तहमा मैत्रीपुर्ण प्रतिस्पर्धा गर्ने भन्दै आआफ्ना उम्मेदवार उठाउने सहमति गरिसकेको छ । एकीकृत समाजवादीले वडा ४ मा अध्यक्ष पाउने सहमति भएको भन्दै गठबन्धनभित्रै रहेको प्रतिक्रिया दिइरहेको छ । 

गठबन्धनमा धरानमा कांग्रेसको भागमा मेयर छ भने उपमेयर माओवादीको भागमा छ । उम्मेद्वारी मनोनयन दर्ता गर्ने दिनसम्म पनि उम्मेद्वार तोक्न नसकेपछि कांग्रेस र माओवादी कार्यकर्ताहरु अन्योलमा छन् । कांग्रेसको प्रदेश कमिटीमा उम्मेद्वारबारे हिजोदेखि लगातार छलफल भइरहेको छ । तर, टिकट कसलाई दिने भन्ने निर्णय गर्न सकेको छैन । केन्द्रीय नेताहरुकै हस्तक्षेपको कारण निर्णयमा ढिलाई भइरहेको हो । 

कांग्रेसबाट मेयरमा उमेश थापा, किसोर राई, तिलक राई र सुजेन्द्र गोले तामाङको नाममा छलफल भइरहेको छ । उमेश थापा प्रदेशका महामन्त्री पनि हुन् । किसोर राई धरानका पुर्वनगरसभापति तथा हाल जिल्ला सदस्य छन् भने तिलक राई धरानका वहालवाला मेयर हुन् । तामाङ सुनसरी क्षेत्र नं १ का सभापति हुन् । 

कांग्रेसबाट मेयरमा उमेश थापा, किसोर राई र तिलक राईमध्ये एक जनाले टिकट पाउने चर्चा छ । सुनसरी क्षेत्र नं १ कार्यसमिति र धरान नगर कार्यसमितिमा संस्थापन इतर कांग्रेस नेता डा.शेखर कोइरालाको पकड छ । त्यसैले टिकटमा पनि संस्थापन देउवा र कोइराला खेमाबीच रस्साकस्सी चलेको हो । सिफारिशमा परेका किसोर राईबाहेक ३ जना कोइराला निकट हुन् ।

महामन्त्री थापाले आज १०, ११ बजेभित्र मात्र उम्मेद्वारको फाइनल हुने जानकारी दिए । उनले भने,‘छलफल चलिरहेको छ, आज १०, ११ बजेतिर मात्र एक जनाको फाइनल हुन्छ,’उनले भने ।

उपमेयरमा पनि माओवादी केन्द्रले आज बिहानसम्म उम्मेदवार तय गरेको छैन । माओवाददी केन्द्रका धरान उपमहागर कमिटी अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)का अनुसार मध्याह्न १२ बजेभित्र उम्मेद्वार फाइनल हुनेछ । उनले भने, ‘आकांक्षीहरु सबैको नाम केन्द्रमा पुगेको छ, आज १२ बजेसम्म आइपुग्छ ।’

उपमेयर दौडमा रहेका अध्यक्ष भट्टराई वडा नं १७ को वडाअध्यक्षमा नै उठ्ने भएका छन् । उपमेयरमा भने अइन्द्रबिक्रम बेघा, फोक्वाहाङ सुब्बा (चोत्लुङ), चेतना सेरेङ, अशोक राई, लक्ष्मी प्रधान, भुमिका चौलागाई, दिलबहादुर रामदान, गंगा पौडेल, चन्द्र उदास, उत्तरकुमार लिम्बुलगायत आकांक्षीहरुको नाम केन्द्रमा सिफारिश भएको भट्टराईले जानकारी दिए ।