धरान: धरान वडा नं २० को दस्तखत विनाको मतपत्र विवाद सुल्झन नसक्दा बुधबार राती ९ बजे पनि मतगणना शुरु भएको छैन । 

निर्वाचन आयोगले दस्तखत नभएको मतपत्र वदर गरी मतगणना कार्य सुचारु गर्न निर्देशन दिएको छ । उक्त निर्देशन पछि निर्वाचन अधिकृत पुष्करराज नेपालले सर्वदलीय तथा सर्वपक्षीय बैठक राखेका थिए । उक्त बैठकमा माओवादी केन्द्रले दस्तखत नगरी मतपत्र वितरण गर्ने अधिकृतलाई तत्काल कारबाही गर्न र पुनः मतगणना गर्न माग राखेको थियो । उक्त मागबारे ठोस सहमति जुट्न नसकेपछि माओवादी केन्द्रले बीचैमा बैठक बहिष्कार गरेर बाहिरिएको थियो । 

माओवादी केन्द्रका अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले आयोगबाट दस्तखत नभएको मतपत्र वदर गर्ने निर्णय स्वीकार गर्ने तर कर्मचारीलाई तत्काल कारबाही गर्ने र पुनः मतगणना गर्नुपर्ने मागमा ठोस निर्णय हुन नसकेकोले बैठकबाट बाहिरिएको बताए । उनले भने,‘हाम्रो माग सम्बोधन नभएसम्म गन्न बाँकी रहेको वडाको मतगणनामा सहभागी हुनेछैनौं ।’

बैठकमा निर्वाचन अधिकृतले पुनः मतगणना गर्न पनि प्रक्रियामार्फत आउनुपर्ने भन्दै वडा २० को मतगणनालाई थाती राख्दै अन्य वडाको गणना गर्न आग्रह गरेका थिए । पुनःमतगणनाको लागि निवेदन दिनुपर्ने र उक्त निवेदन आयोगमा पठाएपछि आएको निर्देशन वमोजिम गर्ने बताएका थिए । तर, नेपाली कांग्रेसले आयोगबाट मतगणना सुचारु गर्न निर्देशन भइसकेकोले सोही अनुसार हुनुपर्ने अडान राखेको थियो । ‘कांग्रेसले आयोगबाट निर्देशन आइसकेको छ, पुनःगणना नगरौं भन्यो,’जसपा धरानका अध्यक्ष ताजुब लिम्बुले भने,‘हामीले सहमति गरौं, पुनःमतगणनामा सहमति भइदिनुस् भनेर कांग्रेसलाई भन्यौ । तर सहमति जुटेन ।’