धरान: धरानको मतगणनास्थलमा बुधबार राती तनाव भएको छ । 

वडा नं २० को मतगणना भइरहदा १८ वटा मतपत्र मतदान अधिकृतको दस्तखत विना भेटिएपछि विवाद भएको थियो । उक्त विवाद चर्कदै गएर बाँकी रहेको सबै वडाको मतगणना स्थगित भएको थियो । निर्वाचन आयोगले दस्तखत नभएको मतपत्र वदर हुने र सुरक्षा प्रबन्ध गरेर मतगणना सुचारु गर्न निर्देशन दिएको थियो । सोही निर्देशन वमोजिम निर्वाचन अधिकृतले वडा ८, १९ र १२ को मतगणना सुचारु गर्न लागेको जानकारी गराएका थिए । 

अधिकृत पुष्करराज नेपालले मतगणनामा प्रतिनिधिहरु पठाउन राजनीतिक दलहरुलाई आग्रह गरेका थिए । सोही आग्रह वमोजिम माओवादी केन्द्रबाहेकका अन्य पार्टी तथा उम्मेद्वारका प्रतिनिधिहरु आएका थिए । आफ्नो प्रतिनिधि विना मतगणना सुचारु हुन लागेपछि माओवादी केन्द्रका नेताहरु मतगणनास्थलमा आएर विरोध जनाएका थिए । उनीहरुले आफ्नो माग पुरा नगरी मतगणना सुचारु गर्न लागेकोमा चर्को विरोध जनाउने क्रममा स्थिति असहज बनेको थियो । 

विरोध जनाउदै पुगेका माओवादी केन्द्रका नेताहरु र मतगणनाको लागि पुगेका एमालेका प्रतिनिधिहरुबीच विवाद शुरु भएर हात हालाहालको स्थिति बनेको थियो । तर, प्रहरीले दुवै पक्षलाई रोकेर झडप हुन भने दिएन । राती करिब १० बजेतिर तनाव भएको हो । 

मतगणना बिहिबार बिहान ८ बजेदेखि मात्र हुने 

धरानको रोकिएको मतगणना बिहिबार बिहान ८ बजेदेखि मात्र हुने भएको छ । 

राजनीतिक दलहरुसँगको बैठकमा बिहिबार बिहान ८ बजेदेखि मात्र मतगणना गर्ने सहमति भएको कांग्रेस सुनसरी क्षेत्र नं १ का सभापति सुजेन्द्र तामाङले जानकारी दिए । वडा नं २० को पुनः मतगणना गर्ने माओवादी केन्द्रको मागबारे निर्वाचन आयोगको निर्णय पर्खने सहमति भएको पनि उनले बताए । यद्यपी, कांग्रेस भने उक्त मागमा सहमत नभएको उनको भनाई छ ।