धरान: धरानका नवनिवार्चित मेयर हर्कराज राई (साम्पाङ)सहित सबै जनप्रतिनिधिहरुको आज सपथ ग्रहण गरिने भएको छ ।

धरानका निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार शुरुमा मेयर साम्पाङको सपथ ग्रहण कार्यक्रम इनरुवामा हुनेछ । मेयरलाई सुनसरी जिल्ला अदालतका १ नम्बर न्यायाधिश तथा प्रमुख निर्वाचन अधिकृत कैलाश सुवेदीले सपथ ग्रहण गराउनेछन् । बिहान ९ बजे सपथ ग्रहण गरिसके पछि मेयर साम्पाङले धरानमा उपमेयरसहित सबै निवार्चित जनप्रतिनिधिहरुलाई सपथ ग्रहण गराउने पनि अधिकृत नेपालले जानकारी दिए ।

धरानमा मेयर र उपमेयरसहित १०२ जना जनप्रतिनिधि निवार्चित भएका छन् । धरानको एक वडाबाट ५ जनाको दरले १०० जना जनप्रतिनिधि चुनिएका छन् । एक जना मेयर र एक उपमेयर पनि निवार्चित भएका छन् । 

कार्यपालिकाको निर्वाचन तालिका भोली प्रकाशन हुने

प्रमुख, उपप्रमुख र वडाका जनप्रतिनिधिहरु चुनिए पनि निर्वाचन प्रक्रिया अझै सकिएको छैन । अब ८ जना कार्यपालिका सदस्यहरु पनि निर्वाचन गर्न बाँकी नै छ । सबै मतपरिणाम घोषणा भएको दिनदेखि १५ दिनभित्र कार्यपालिका सदस्यहरुको निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान रहेको निर्वाचन अधिकृत नेपालले जानकारी दिए । उनले भने, ‘कार्यपालिका सदस्यको निर्वाचनको कार्यक्रम भोली प्रकाशन गर्छुँ ।’

ती ८ जना कार्यपालिका सदस्यहरुमध्ये ५ जना वडा सदस्यहरुबाट नै निर्वाचन गर्नुपर्ने हुन्छ । यस्तै, ३ जना बाहिरबाट निवार्चित गर्नुपर्ने हुन्छ । निवार्चित वडा सदस्यहरुमध्ये ५ जना महिलालाई कार्यपालिका सदस्यमा लैजानुपर्ने हुन्छ । यसको लागि १०२ जना निवार्चित जनप्रतिनिधिहरुले मतदान गर्नेछन् । यस्तै, बाहिरबाट लैजानुपर्ने ३ जना अल्पसंख्याक, दलित र पिछडा वर्गको प्रतिनिधित्व हुने गरि कार्यपालिका सदस्य चयन गर्नुपर्ने हुन्छ ।