धरान: धरानका नवनिवार्चित मेयर हर्कराज राई (साम्पाङ)ले आज पदभार ग्रहण गर्ने भएका छन् ।

आज बिहान १० बजे धरान उपमहानगरपालिकाको कार्यकक्षमा प्रवेश गरेर पदभार ग्रहण गर्ने मेयर राईका सहयोगी एवं निर्वाचन परिचालन संयोजक तर्कराज मगरले जानकारी दिएका छन् । उनका अनुसार उपमहानगरमा पदभार ग्रहण गरेपछि आजै मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्न मेयर राई निस्कनेछन् ।

पब्लिक माविको मैदानमा भेला भएर समर्थक तथा शुभेच्छुकहरुसहित मेयर राई मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्न जाने मगरले जानकारी दिए । उनका अनुसार पब्लिक स्कुलबाट र्याली छाताचोक हुदै फुस्रे पुग्नेछ । त्यहाँबाट अमरहाट हुदै पुरानो बजार हुदै वडा नं १५ हुदै धनकुटे रोड निस्केर बुद्धचोक, रत्नचोक, रेल्वे हुदै वीपी प्रतिष्ठानको गेटमा पुगेर पहिलो दिनको धन्यवाद र्याली समापन हुने पनि बताइएको छ । आज साँझ पुनः छलफल गरेर भोलीको धन्यवाद ज्ञापन र्यालीको रुट तयार गरिने पनि उनले बताए ।