धरान: स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थलगत निरीक्षण गरेका छन् । 

प्रतिष्ठानको सहकुलपतिसमेत रहेका मन्त्री खापुङले आइतबार निर्माणाधिन मातृशिशु भवन (एमसिएच) तथा अंकोलोजी, कार्डियोलोजी भवनको स्थलगत निरीक्षण गरेर जानकारी लिएका थिए । यस्तै, निर्माणाधिन सि.टि.भि.एस. अपरेशन कक्ष, हालै विस्तार गरिएको ३० बेडको आई.सि.यू. कक्ष पनि मन्त्री खापुङले निरीक्षण गरेका थिए । मन्त्री खापुङले रेडियोलोजी विभागमा पुगेर विभागको समस्या र निराकरणबारे विरामी, विभागका चिकित्सकहरुसँग सुझाव पनि लिएका थिए । 

यस्तै, मन्त्री खापुङले हालै थप गरिएको २० बेडको डायलाइसिस यूनिटको पनि अवलोकन गरेका थिए । त्यहाँ उपचारको लागि आएका बिरामीहरुसँग मन्त्री खापुङले प्रत्यक्ष कुराकानी गरेर गुनासोसमेत सुनेका थिए । निरीक्षणको क्रममा स्वास्थ्य सचिव डा.रोशन पोखरेल, स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा.कृष्ण प्रसाद पौडेल, प्रतिष्ठानका पदाधिकारीहरु, सम्बन्धित विभागका प्रमुखहरु लगायत पनि सहभागी थिए ।

minister

अस्पतला निर्देशक डा.जगत नारायण प्रसादले पटक पटक विज्ञापन गर्दा पनि प्रतिष्ठानमा रेडियोलोजिस्ट चिकित्सकहरुको आवेदन नपरेको र जनशक्ति अभावको कारणले गर्दा विरामीहरुलाई दिइने सेवामा केही ढिलाई भइरहेको बताएका थिए । उनले मन्त्रालयबाट विशेष सहयोगको अपेक्षा राखेको पनि बताए । इमर्जेन्सी विभागको पनि निरीक्षण गरेका मन्त्री खापुङले आफुले सुनेको भन्दा व्यवस्थित रहेको प्रतिक्रिया दिए । यस्तै, प्रतिष्ठानको फार्मेसी पनि निरीक्षण गरेका मन्त्री खापुङले सञ्चालनमा आएर बिरामीले सुलभ सुविधा पाइरहेको भन्दै खुशी व्यक्त गरेका थिए । 

मन्त्री खापुङले सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदै प्रतिष्ठानलाई राम्रो बनाउन आफु लागिपरेको बताए । साथै उनले प्रतिष्ठानका चारै जना पदाधिकारीहरुलाई पनि एकढिक्का भएर प्रतिष्ठानको हितमा अघि बढ्न निर्देशन दिएको जानकारी दिए । उनले मन्त्रालय र सरकारबाट स्रोत, साधानले भ्याएसम्म सहयोग गर्न तयार रहेको पनि बताएका थिए । प्रतिष्ठानलाई पहिलाको जस्तै दक्षिण एसियाको नाम चलेको स्वास्थ्य संस्थाकोरुपमा पुर्याउन सबै लागिपर्नुपर्ने पनि मन्त्री खापुङको जोडथियो । प्रतिष्ठानमा अंग प्रत्यारोपण केन्द्र बनाउने योजनाको लागि आवश्यक पर्ने उपकरण, दक्ष जनशक्ति उपलब्ध गराउन मन्त्रालय सकरात्मक रहेको पनि बताएका थिए ।