धरान: धरान उपमहानगरपालिकाले डेंगु नियन्त्रणको लागि भोली बुधबार बिहान ७ बजे एकैसाथ सबै वडामा लार्भा खोजेर नष्ट गर्ने वृहत अभियान सञ्चालन गर्ने भएको छ। 

आज बिहान बसेको कार्यपालिका बैठकले वडाका जनप्रतिनिधिहरुको संयुक्त पहलमा टोलविकास संस्था, क्रियाशिल संघसंस्था, टोलबासी, विद्यालयका शिक्षक र विद्यार्थीहरुको सहभागितामा व्यापकरुपमा आआफ्नो वडामा सर्च एण्ड डिष्ट्रोय अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले बिहान ठिक ७ बजे सबै वडामा यो अभियान गर्ने निर्णय गरेको छ । वडा कार्यालयहरुले सबै टोलबासीहरुलाई आआफ्नो घरबाट निस्केर लार्भा खोजी र नष्ट गर्ने अभियानमा सहभागी हुन आह्वान पनि गरिसकेको छ । 

यस्तै, कार्यपालिका बैठकले सर्च एण्ड डिष्ट्रोय अभियानलाई थप प्रभावकारी बनाउन भोली धरानका सरकारी तथा निजी विद्यालयहरुलाई विदा दिने पनि निर्णय गरेको छ । विद्यार्थी, शिक्षकहरु सबैलाई सर्च एण्ड डिष्ट्रोय अभियानमा सहभागी हुन आग्रह गर्दै बैठकले विद्यालय विदा दिने निर्णय गरेको हो । 

बैठकमा वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले डेंगुसँगै आँखा पाक्ने रोग पनि फैलिएको कारण विद्यार्थीहरुलाई विदा दिएर घरमै बस्ने आग्रह गर्नुपर्ने पनि धारणा राखेका थिए । पछिल्लो समय अधिकांश विद्यार्थीहरुमा आँखा पाक्ने रोग पनि फैलिएको छ । 

भिडियो:

भिडियो:

भिडियो: