धरान: धरान खानेपानी बोर्डमार्फत वितरण भइरहेको पानीमा दिसामा पाइने जीवाणु फिकल कोलिफर्म फेला परेको छ । 

धरानमा डेंगुको महामारीसँगै आँखा पाक्ने, जीउ चिलाउने जस्ता स्वास्थ्य समस्याहरु देखिएपछि फोहोर पानीको कारण भएको भन्दै जनगुनासो तथा टिकाटिप्पणीहरु भइरहेको थियो । साथै, डेंगु रोग पनि फोहोर पानीको कारण धेरै फैलिएको हो कि भन्ने आशंकाहरु पनि व्यक्त भइरहेको थियो । यस्ता जनगुनासोहरुलाई मध्यनजर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरानले विभिन्न ७ ठाउँको पानीको नमुना संकलन गरेर परीक्षण गर्दा खोलाबाट संकलन गरेर वितरण भइरहेको पानीमा कोलिफर्म देखिएको हो ।

रास्वपा धरानका सचिव सुमन श्रेष्ठका अनुसार संकलित पानीको नमुना नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको इटहरीस्थित खानेपानी गुणस्तर परीक्षण प्रयोशालामा इकोलाई परीक्षण गरिएको थियो । परीक्षण गर्दा धरानबासीले पिउन प्रयोग गरिरहेको पानीमा अखाद्य पदार्थ मिश्रित भएको प्रतिवेदन प्राप्त भएको पनि उनले जानकारी दिए । उनका अनुसार खोलाबाट संकलन गरेर वितरण गरिएको पानीमा कोलिर्फम भेटिएको छ भने बोरिङ गरेर विरतण गरिने पानीमा कोलिफर्म भेटिएको छैन । 

water test

पानीमा कोलिफर्म भेटिएको प्रतिवेदनसहित उक्त पार्टीले बिहिबार मेयर हर्क साम्पाङलाई ध्यानाकर्षण पत्र बुझाएको छ । ध्यानाकर्षण पत्र बुझाउदै उक्त पार्टीले पानी शुद्धिकरणको लागि क्लोरिनेशन जस्ता आवश्यक विधि अपनाएर धरानबासीलाई स्वास्थ्य र शुद्ध पानीको लागि आवश्यक व्यवस्थापन गरिदिन पनि आग्रह गरेको छ । पार्टीका नगर सभापति राजेशमान श्रेष्ठले आफुहरुले समस्या मात्र नभै समाधान पनि देखाएको र नगर नेतृत्वबाट आवश्यकता ठानेमा सहकार्य गर्न पनि तयार रहेको बताए । 

मेयर साम्पाङले सतहको पानी संकलन गरेर वितरण हुँदा शुद्धतामा समस्या रहेको स्वीकार गर्दै गुणस्तरीय पानी वितरण गर्न आवश्यक पहल गर्ने बताए । खानेपानीको चर्को समस्या हुँदा जस्तै भएपनि पानी वितरण गर्नुपर्ने बाध्यता पनि रहेको भन्दै उनले शुद्ध पानी वितरणमा प्राविधिकहरुको सहयोग लिएर पनि ध्यान दिइने बताए । कोलिफर्म दिशामा हुने सुक्ष्म जिवाणु हो । कोलिफर्म मानिस, गाइबस्तु, चराचुरुङ्गी जस्ता तातो रगत भएका पशुपंक्षीको दिसामा पाइन्छ । कोलिफर्म कुनै एउटा व्याक्टेरिया मात्र नभई दर्जनभन्दा बढी ब्याक्टेरियाहरुको समूह हो । पानीमा कोलिफर्म भेटिनु भनेको पानी प्रदुषित वा पिउन अयोग्य हुनु हो । कोलिफर्म भएको पानी पिउँदा मानिसमा झाडापखाला, हैजा जस्ता रोगहरु लाग्न सक्छ । 

रास्वपाका अनुसार फुस्रेस्थित रिजर्भ वेयर ट्यांकको पानी परीक्षण गर्दा कोलिफर्मको मात्रा ३० आएको थियो भने धरान १४ विजयपुरस्थित रिजर्ब ट्यांकको पानी गौधाराबाट संकलन गरेर परीक्षण गर्दा कोलिफर्म रिपोर्ट ३५ आएको छ । यस्तै, खर्दुको पानी परीक्षण गर्दा कोलिफर्मको मात्रा १५, सर्दुको पानी परीक्षण गर्दा कोलिफर्मको मात्रा १० आएको छ भने निशाने ट्यांकीको पानी परीक्षण गर्दा कोलिफर्मको मात्रा २० आएको छ । यस्तै, विष्णुचोकस्थित ट्यांकबाट कोकाहाको पानी संकलन गरेर परीक्षण गर्दा कोलिफर्मको मात्रा ५ आएको छ भने सोही ट्यांकीमा मिसाइएको कुम्भी आहालको बोरिङ गरेको पानी परीक्षण गर्दा कोलिफर्मको मात्रा शुन्य अर्थात नभएको रिपोर्ट आएको रास्वपाले जनाएको छ । 

भिडियो: