धरान: धरानमा महामारीकोरुपमा फैलिएको डेंगु ज्वरोको र्यापिड टेष्ट गर्दा लिइने शुल्क ५५० भन्दा बढी लिन नपाइने भएको छ ।

धरान उपमहानगरपालिकामा शनिबार बजार अनुगमन समिति, सुनसरी उद्योग वाणिज्य संघ, औषधी व्यवसायी र ल्याब तथा पारामेडिकलका संस्थाको प्रतिनिधिहरुहरुबीचको समन्वयात्मक बैठकले डेंगु र्यापिड टेष्टको मुल्य तोकिएको हो । निजी स्वास्थ्य संस्थाहरुले डेंगु टेष्ट गरेको चर्को शुल्क लिएको जनगुनासो आएपछि समन्वयात्मक बैठक राखेर मुल्य तोकिएको हो । निजी क्लिनिक तथा ल्याबहरुमा शुल्क लिएपनि धरान ८ स्थित सभागृहमा उपमहानगरपालिकाले निःशुल्क टेष्टको व्यवस्था गरेको छ भने छाताचोकस्थित पुरानो अस्पतालमा निःशुलक डेंगु उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । 

बैठकले र्यापिड टेष्टको मुल्य ५५० भन्दा बढी लिन नपाउने निर्णय गरिएको बजार अनुगमन समितिका संयोजकसमेत रहेका उपमेयर अइन्द्रबिक्रम बेघाले जानकारी दिए । उनका अनुसार स्लाइनको मुल्य राज्यले तोकेको भन्दा बढी लिन नपाउने पनि बैठकमा सहमति भएको छ । यसैगरि, सेवा शुल्क पनि महामारीको बेला सामाजिक उत्तर दायित्व वहन गर्दै न्युनतम मात्र लिने सहमति भएको उपमेयर बेघाले जानकारी दिए ।

‘स्लाइन पानीको हकमा राज्यले तोकेको मुल्यभन्दा बढी लिन नपाउने भन्ने भयो । सेवा शुल्क फरक फरक लिने गरेको रहेछ । त्यसैले, यस्तो बेला न्युनतम मात्र  लिनुपर्छ, सामाजिक उत्तरदायित्व पनि वहन गर्ने गरि लिनुस् भन्यौं,’उनले भने,‘विरामीलाई विल दिदा जे जेको पैसा लिएको हो, त्यो सबै प्रष्ट खुलाउनुपर्छ भनेका छौं । एकमुष्ठ लेख्न पाइदैन । स्लाइनको कति लिएको हो, डेंगु टेष्टको कति हो, सेवा शुल्क कति लिएको हो, त्यो सबै प्रष्ट खुलाउनुपर्छ ।’