धरान: धरानको वडा नं १३ ले उच्च ज्वरो तथा डेंगुका विरामीहरुको निःशुल्क उपचार सेवा शुरु गरेपछि घुँइचो लागेको छ । 

वडा नं १३ ले सोमबारदेखि आधारभुत स्वास्थ्य केन्द्रमा ४ वटा बेड राखेर उच्च ज्वरो आएका विरामीको उपचार शुरु गरेको थियो । उच्च ज्वरो आएका विरामीहरुको चाप बढेपछि बुधबारदेखि वडा १३ ले ज्येष्ठ नागरिक तथा वडा बाल सञ्जालको हलमा उपचार शुरु गरेको छ । उक्त हलको भुँईमा वडाले विरामीहरुलाई उपचार सेवा दिने व्यवस्था गरेको छ । दिउँसो समाचार संकलनको लागि पत्रकारहरु पुग्दा झण्डै ३ दर्जन विरामीहरुले उपचार लिइरहेका थिए ।

वडाअध्यक्ष नेत्र काफ्लेले विरामीको चाप असाध्यै बढेपछि २१ जनाको क्षमता हुने गरि सभाहललाई उपचार केन्द्रकोरुपमा परिणत गरिएको बताए । थुप्रै विरामीहरु उपचार गरेर घर फर्किएको पनि उनको भनाई छ । उपचारमा सहयोग गर्न २ जना भोलेन्टिर किसोरीहरु पनि आएका छन् । वडा कार्यालयले निःशुल्क उपचार सेवा शुरु गरेको जानकारी पाएपछि विभिन्न व्यक्ति तथा समाजसेवीहरुले औषधी तथा अन्य आवश्यक सामग्रीहरुमा सहयोग गरिरहेको पनि उनले बताए । 

वडा कार्यालयले उच्च ज्वरो आएका विरामीहरुलाई बुधबार डेंगु परीक्षण गर्न वडामा नै रगतको नमुना संकलन पनि गरिएको थियो । उक्त रगतको नमुना धरान उपमहानगरपालिकाले सभागृहमा सञ्चालन गरेको शिविरमा पठाइएको र त्यहाँ पनि चापको कारण रिपोर्ट आउन ढिलाई भएको अध्यक्ष काफ्लेले बताए । भोली (बिहिबार)देखि भने वडा कार्यालयमा नै छुट्टै डेंगु परीक्षणको व्यवस्था गरिएको पनि उनले बताए । 

ward 13

वडा नं १३ लाई विरामीको उपचारमा सहयोग गरिरहेका समाजसेवी घनश्याम तिम्सिनाका अनुसार ३५ जनाको वडामै डेंगु परीक्षणको नमुना लिइएको र २५ जनालाई स्लाइन पानी हालेर उपचार गरिएको बताए । वीपी प्रतिष्ठानमा विरामीको धेरै चाप हुँदा समस्या हुने र निजी क्लिनिकहरुमा महंगो हुने भएकोले विपन्न विरामीहरुलाई उपचारमा गाह्रो भइरहेको बेला वडाले निःशुल्क उपचार व्यवस्थाले राहत मिलेको बताए । सबै वडा कार्यालयहरुले यस्तो प्रबन्ध गर्नुपर्ने उनले बताए । 

स्वास्थ्य केन्द्रका इञ्चार्ज सरोज बास्तोलाले वडामा सुविधा छ भन्ने सुनेर विरामीहरु आउन थालेको र अझै घरमा धेरै विरामीहरु अस्पताल नपुगि बसिरहेको बताए । उच्च ज्वरो आएका विरामीहरुलाई मात्र राखेर उपचार गरिरहेको उनले बताए । ‘घरमै बसिरहेका विरामीहरुलाई वडामा निःशुल्क उपचार हुन्छ भन्ने सुनेपछि आउनु भएको हो । विरामी घरमा यो भन्दा धेरै छन् भन्ने लाग्छ,’ बास्तोलाले भने, ‘उच्च ज्वरो भएकाहरुलाई राखेर उपचार गरिएको हो । अस्पतालमा हुने उपचार विधि पनि यही नै हो । ज्वरो नघट्दा आइसप्याक पनि प्रयोग गरिरहेका छौं ।’

भिडियो: