धरान: डेंगुले महामारीको रुप लिए पछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र निजी अस्पताल, क्लिनिकहरुमा विरामीको चाप ह्वात्तै बढ्यो । वीपीमा विरामीको अत्यधिक चाप र निजीमा महंगो उपचारले निम्न अवस्थाका नागरिकहरु सिटामोलको भरमा थप उपचार नगरि घरमै बसेका थिए । 

डेंगुले एउटै परिवारमा ३, ४ जनासमेत थला परेपछि अवस्था भयावह बन्दै गएको थियो । जनप्रतिनिधिहरुले डेंगु नियन्त्रण र उपचारमा ठोस कदम चाल्न नसकेको भन्दै आलोचना भइरहदा वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले वडा कार्यालयसँगै रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा ४ वटा बेड राखेर निःशुल्क उपचार शुरु गरे । पहिलो दिन निःशुल्क उपचार शुरु गरेको वडा १३ मा भोलीपल्टदेखि भने विरामीको चाप बढ्न थाल्यो ।

ज्येष्ठ नागरिक मिलन केन्द्र तथा वडा बाल सञ्जालको हललाई उपचार केन्द्रमा परिणत गरेर वडा १३ ले निःशुल्क सेवा दिन थाल्यो । जहाँ हरेक दिन विरामीको चाप बढ्दै गएको छ । जिरोपोइन्टस्थित एकेएम ल्याबसँग सहकार्य गरेर निःशुल्क डेंगु परीक्षण हुन्छ । उनको कामको प्रशंसा त भएकै छ, अन्य वडा कार्यालयहरुले पनि निःशुल्क उपचार शुरु गरेका छन् ।

ward 13 1

वडाअध्यक्ष काफ्लेका अनुसार डेंगुका उपचारसँगै ३ दिन यता प्रत्येक दिन निःशुल्क आँखा शिविर पनि सञ्चालन भइरहेको छ । डेंगुसँगै आँखा पाक्ने रोग पनि फैलिएकोले खुशी आँखा हस्पिटल प्रालिसँग सहकार्य गरेर उपचार र औषधी पनि वितरण भइरहेको छ । डेंगु महामारी नियन्त्रणमा नआएसम्म अन्य कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नहुने उनले बताए । अहिले डेंगुका विरामीहरुको उपचार सेवामा नै हामी केन्द्रीत छौं, त्यसैले यो महामारी नियन्त्रणमा नआएसम्म अन्य कार्यक्रमहरुमा नजाने घोषणा गरेका छौं, उनले भने । 

उपचारको क्रममा दैनिक एक लाख हाराहारीमा औषधीमा खर्च हुने गरेको पनि वडाअध्यक्ष काफ्लेले जानकारी दिए । औषधीमा धरान उपमहानगरपालिका र विभिन्न दाताहरुबाट सहयोग प्राप्त भइरहेको पनि उनले बताए । अहिले कसैले चिया खाने प्रस्ताव गरेमा आफुहरुले अस्वीकार गर्ने र त्यसको साटो २ वटा सिटामोल दिने प्रस्ताव गरिने पनि अध्यक्ष काफ्लेको भनाई छ । 'कसैले चिया खान आग्रह गरे एक कप चियाको साट्टा २ वटा सिटामोल दिनुस् भन्ने अभियानमा पनि छौं,' उनले भने, 'यो अभियान यहाँ सघाइरहेका सबै साथीभाईले गरिरहनुभएको छ ।'

netra kalfle 13

उपचार केन्द्रमा निरन्तर सहयोग गरिरहेका घनश्याम तिमिल्सिनाका अनुसार विभिन्न व्यक्ति र संघसंस्थाहरुबाट औषधी सहयोग प्राप्त भइरहेकोले धेरै राहत भइरहेको छ । आज (आइतबार) पनि धुलिखेल समाज धरानबाट क्यानुला १०० थान, इजि फिक्स १०० थान आइभि सेट १०० थान, स्लाइन पानी १०० थान जिबनजल १२० थान, पानी १० कार्टुन र भिटामिन (सिबिआइ १२) ९० थान उपलब्ध भएको उनले बताए । 

यस्तै, आजै धरान १३  स्थित अमर बचत तथा ऋण सहकारी सस्थाबाट समाजसेवी भुमिराज पहिम मार्फत आवश्यक औषधी खरिद गर्न १० हजार उपलब्ध भएको थियो भने धरान १३ का मणिकुमार राईले एक कार्टुन (२४ थान) स्लाइन पानी उपलब्ध भएको थियो । यसैगरि, धरान १३ का खेम गुरुङ र कुमार कट्वाल, धरान १३ कै व्यापारी शिबचन्द्र चौधरी, धरान १३ का अजय गुप्ता, धरान ९ का अभिमन्यु श्रेष्ठ, धरान १३ निवासी हरिबहादुर कार्की, बिष्णु चौलागाईं र धरान १६ निवासी निरन्जन लाल कर्णले आवश्यक सामग्री तथा औषधीहरु सहयोग गरिसकेका छन् । 

भिडियो: