धरान: सुनसरी उद्योग वाणिज्य संघ धरानले पनि निःशुल्क डेंगु उपचार सेवा शुरु गरेको छ । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरेर संघले धरान १ स्थित आफ्नै भवनमा रहेको मिलेनियम हलमा डेंगुको उपचार सेवा शुरु गरेको हो । 

तत्काल २० बेडमा विरामीको उपचार शुरु गरेको आवश्यक परेमा थप १० बेड पनि विस्तार गर्ने गरि निःशुल्क उपचार शुरु गरिएको संघका अध्यक्ष विजय श्रेष्ठले बताए । अस्पताल र निजी क्लिनिकहरुमा विरामीको चाप बढेको कारण संघले पनि सामाजिक उत्तरदायित्व वहन गरेको उनले बताए । उपचार सेवाको लागि धरान उपमहानगरपालिका, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, केएचडिसी र पिएसआरएनको पनि सहयोग गरेको हो । वीपी प्रतिष्ठान, केएचडिसी र पिएसआरएनबाट प्राविधिक तथा जनशक्ति सहयोग छ । प्रतिष्ठानका शिक्षाध्यक्षसमेत रहेका वरिष्ठ चिकित्सक प्रा.डा.सञ्जिव शर्मा, हाडजोर्नी विभाग प्रमुख प्रा.डा.विक्रम श्रेष्ठको पनि निगरानी तथा परामर्श हुनेछ । 

dengu uba

उपचार केन्द्रमा चौबिसै घण्टा विरामीलाई सेवा उपलब्ध हुनेछ । अस्पतालमा हुने उपचार विधि जसरी नै यहाँ विरामीको उचाई, तौल, ब्लड प्रेसर, सुगर पनि जाँच हुनेछ भने एक जना डाक्टर हरदम रहेर जाँच गर्नेछन् । साथै, निःशुल्क डेंगु टेष्ट पनि गरिनेछ । रिपोर्ट पोजेटिभ आएमा र स्वास्थ्यकर्मीको निगरानीमा उपचार गर्नुपर्ने देखिएमा मात्र बेड भर्ना गरिने उपचारमा खटिएकी वीपी प्रतिष्ठानकी स्टाफ नर्स श्वेता भण्डारीले बताइन् ।

यसअघि, वीपी प्रतिष्ठान र धरान उपमहानगरपालिकाको सहकार्यमा प्रतिष्ठानले निःशुल्क डेंगु ज्वारो क्लिनिक सञ्चालनमा ल्याएको थियो भने विरामीको चाप बढेपछि छुट्टै डेंगु वार्ड पनि वीपी प्रतिष्ठानले सञ्चालन गरिसकेको छ । प्रदेश स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा उपमहानगरपालिकाले पनि पुरानो अस्पतालमा डेंगु उपचार केन्द्र सञ्चालनाम ल्याएको छ । यस्तै, वडा नं १३, १४ र ८ ले नि आफ्नै वडामा डेंगुका विरामीको उपचार गरिरहेका छन् । धरानमा डेंगुले हालसम्म ९ जनाको मृत्यु भएको छ । हालसम्म ५७८७ जनाको परीक्षण गर्दा ३६२५ जना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य महाशाखाले जनाएको छ ।