धरान: धरानमा सञ्चालनमा रहेपनि दर्ता नभएका ल्याबहरु साउन अन्तिमसम्म दर्ता प्रक्रियामा आउन सहमत भएका छन् । यस्तै, दर्ता भएपनि नविकरण नभएकाहरुले पनि सम्बन्धित निकायबाट नविकरण गर्ने भएका छन् ।

धरान उपमहानगरपालिकामा सोमबार भएको छलफलमा धरान क्षेत्रमा दर्ता भएको र दर्ता नभई सञ्चालनमा रहेका ल्याबहरु कानुनी दायरामा आउन सहमत भएका हुन् । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले साउन ३२ गतेभित्र दर्ता भएकाहरु नविकरण गर्ने र दर्ता नभएकाहरुलाई मापदण्ड अनुसार धरानबाट दर्ता हुनेहरुले पनि मसान्तसम्म आवश्यक डकुमेन्ट बुझाइसक्नुपर्नेछ । यस्तै, प्रदेश र संघमा दर्ता र नविकरण गर्नुपर्ने स्वास्थ्य संस्थाले पनि स्वास्थ्य महाशाखाहरुबाट सिफारिश लिइसक्नुपर्ने निर्णय भएको उनले बताए । 

lab xalfal

अहिलेसम्म धरानमा कति डेंगु टेष्ट भयो भन्ने रिपोर्ट वीपी प्रतिष्ठान, सभागृह र वडा १३ को मात्र उपलब्ध भएकोले अब सबै ल्याबहरुले रिपोर्टिङ गर्ने पनि निर्णय भएको छ । गत बैशाख १ गतेदेखि हालसम कति परीक्षण भएको छ, र पोजेटिभ, नेगेटिभको संख्या कति आएको हो भनेर तथ्यांक उपमहानगरपालिकामा पठाउने पनि निर्णय भएको छ ।

यस्तै, मंगलबारदेखि प्रत्येक दिन दिउँसो ४ बजेसम्म स्वास्थ्य महाशाखामा परीक्षणको रिपोर्ट पठाउने निर्णय पनि उक्त छलफलमा भएको छ । रिपोर्ट पठाउनको लागि स्वास्थ्य महाशाखाले वाट्सएपमा ग्रुप बनाइदिने र त्यहाँ विवरण उपलब्ध गराउने निर्णय भएको छ। यस्तै, उक्त छलफलले ल्याब परीक्षणबारे आधिकारिक संस्था र नगरपालिकाबीच समन्वय गरेर वैज्ञानिक आधारमा मुल्य निर्धारण गर्ने सहमति भएको छ । डेंगु ज्वरोको किटको मुल्य भने यसअघि नै ५ सय ५० रुपैया लिने निर्णय भइसकेको छ । 

भिडियो: