धरान: फेएर मेड नामको संस्थाले डेंगु परीक्षणको लागि आवश्यक पर्ने आरडिटी किट धरान उपमहानगरपालिकालाई सहयोग गरेको छ । 

फेएर मेडले एकै पटक ३ हजार थान किट आइतबार उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो । फेएर मेड विराटनगरका टिम लिडर डम्बर सिंह गुरुङले आरडिटी किट धरानका मेयर हर्क साम्पाङलाई हस्तान्तरण गरेका थिए । टिम लिडर गुरुङले धरानमा डेंगुको महामारी अझै बढेको र परीक्षणको लाग चाहिने आरडिटी किट अभाव भएको जानकारी आएकोले सहयोग गरिएको बताए । उनका अनुसार ५ लाख ७० हजार बराबरको ३ हजार थान किट हस्तान्तरण गरिएको छ ।

मेयर साम्पाङले सहयोगी संस्थालाई धन्यवाद दिदै विज्ञहरुकै सल्लाह अनुसार डेंगु नियन्त्रणको लागि सर्च एण्ड डिष्ट्रोय अभियानलाई प्राथमिकता दिइएको बताए । ‘सबैले सहयोग गरिरहेको छ । तपाईहरुबाट थप ठुलो सहयोग भयो,’उनले भने,‘धन्यवाद दिन चाहन्छुँ ।’

उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार फेएर मेडको किट सहयोग अहिलेसम्मकै धेरै हो । उपमहानगरलाई यसअघि संघीय सरकारको इपिडियोमोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामार्फत २ पटक गरि १ हजार थान किट उपलब्ध भएको छ भने प्रदेश सरकारबाट जिल्ला स्वास्थ्य कार्यालयमार्फत विभिन्न मितिमा ६ सय किट प्राप्त भएको छ । यस्तै, प्रदेश प्रयोगशाला विराटनगरबाट पनि ६० थान किट र रगत संकलन गर्ने भाइल ६० थान उपलब्ध भएको उपमहानगरपालिकास्थित स्वास्थ्य महाशाखाका स्टोर सहयोगी रामकुमार राईले जानकारी दिए । 

भिडियो: